समाचारसोमबार, मंसिर १७, २०७०
निर्वाचनपछि भारत जानेको लर्को
संविधानसभाको निर्वाचनमा मत खसाल्ने र गहुँ छर्ने काम सकेपछि पश्चिम नेपालबाट भारतमा कामको खोजीमा जानेहरूको सङ्ख्यामा एकाएक वृद्धि भएको छ ।
तीन दिनदेखि दैनिक करिब एक हजार जना मजदुरी खोज्ने नेपालीहरू भारततर्फ लाग्न थालेको इलाका प्रहरी कार्यालय गड्डा चौकीका प्रहरी नायब निरीक्षक धर्मराज अवस्थीले बताए ।
संविधानसभाको निर्वाचन सम्पन्न भएपछि ११ हजारभन्दा बढी नेपाली मजदुरीका लागि भारततर्फ गइसकेको उनले जानकारी दिए ।
सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, डोटी, बाजुरा, अछाम, बझाङ, कैलाली, कञ्चनपुर र मध्यपश्चिमका कालीकोट, बाँके, बर्दिया, जुम्ला, हुम्लालगायत क्षेत्रका बासिन्दा मजदुरीका लागि गड्डाचौकी नाका हुँदै भारततर्फ जाने गर्छन ।
खेतीले तीन महिना पनि गुजारा गर्न मुश्किल हुने र देशमा रोजगारीको अवसर नहुँदा ६ महिना भारतमा मजदुरी गरेर परिवार पाल्नुपरेको गड्डा चौकीमा भेटिएका डोटीका पदम दमाईले बताए ।
स–परिवार भारततर्फ जान लागेका उनले भने, “आफ्नो बारीको उत्पादनले तीन महिना पुग्दैन अरु काम पाइँदैन भारतमा काम नगरे त बाँच्नै गाह्रो छ ।”
भारतमा अधिकांश नेपालीहरुले सडक मर्मत, विद्युत्का पोल गाड्ने, भारी बोक्ने, चौकीदारी, होटेल र कारखाना मजदुरको रूपमा काम गर्छन् ।
भारतमा मजदुरी गर्दा मासिक रूपमा पाँच हजार जति कमाई हुने गरेको बर्दियाको भुरिगाउँका कालुराम चौधरीले बताए । मंसीरदेखि चैतसम्म मजदुरी गरेर कमाएको पैसाले घरमा रहेका बालबालिकाको विद्यालयको खर्च, लुगाकपडा र घरायसी खर्च चलाउँदै आएको उनले जानकारी दिए ।
भारतका कुमाउ, गढवाल, आसाम, हिमाञ्चल, दिल्ली, बम्बै, मद्रास, बैङ्गलोरलगायतका क्षेत्रमा यहाँका नेपाली जाने गरेका छन् ।
स्वदेशमै रोजगारी गर्नका लागि व्यवस्था भए विदेशिको भरमा बाच्नु नपर्ने बर्दियाका सीताराम चौधरी बताउँछन् । “अब बन्ने नयाँ संविधानमा गरिबका मुद्दालाई सम्बोधन गर्नेहरुलाई जिताएका छौँ, हाम्रो आशा पूरा होला नहोला,” उनले भने ।
