समाचारबिहीबार, साउन ४, २०६९
पैँसठ्ठी प्रधानाध्यापकमाथि भ्रष्टाचारको मुद्दा
जिल्ला प्रशासनमा परेका मुद्दामा मावि, निमावि, प्रावि र मदरसा गरी ६५ वटा विद्यालयका प्रअमाथि नै भ्रष्टाचारको आरोप लगाइएको छ । आव ०६८/६९ मा सप्तरीका १७ मावि, छ निमावि, ४० प्रावि र दुइ मदरसा गरी ६५ विद्यालयका प्रद्यानाध्यापकले भ्रष्टाचार गरेको भन्दै मुद्दा परेको ज्रि्रका सप्तरीका अधिकृत विष्णुरञ्जन बरालले जानकारी दिए ।
प्रअमाथि मुद्दा दिनेमा अधिकांश विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य पदाधिकारी छन् । केही विद्यालयका प्रअमाथि स्थानीय अभिभावकले समेत प्रशासनमा मुद्दा दिएका छन् । यसअगाडिका आर्थिक वर्षा समेत दर्जनौँ विद्यालयका प्रअमाथि भ्रष्टाचारसम्बन्धी मुद्दा परेको र केहीको कारबाहीसमेत भएको ज्रि्रकाको तथ्याङ्कबाट देखिन्छ ।
गत आवमा मात्रै भ्रष्टाचार ठहर भएपछि एक शिक्षक कारागार गएका छन् भने केहीले अनियमितता गरेको रकम विद्यालयमै बुझाएका छन् । त्रिकौल गाविस-९ स्थित राप्रावि त्रिकौलका प्रअ अमोदीलाल मण्डलमाथि प्रशासनमा परेको भ्रष्टाचारसम्बन्धी मुद्दाउपर भएको छानबिनमा प्रमाणित भएपछि गत चैत महिनामा उनलाई राजविराजस्थित सप्तरी कारागार चलान गरिएको थियो ।
विद्यालयको नाममा रहेका खाताबाट किर्ते हस्ताक्षर गरेर चेकबाट रु एक लाख ६४ हजार ८०० प्रअ मण्डलले निकालेको भन्दै ९ पुस २०६८ मा सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्णदेव बिराजीले ज्रि्रकामा मुद्दा दिएका थिए । मुद्दामा भएको छानबिनमा प्रअ मण्डलको भ्रष्टाचार ठहरिएपछि उनलाई प्रशासनले रु एक लाख ६४ हजार ८०० र सोही बमोजिम बिगो गरी रु तीन लाख २९ हजार ६०० धरौटी माग गरेको थियो तर प्रअ मण्डलले उक्त रकम तिर्न नसक्ने जनाएपछि प्रशासनले कारागार चलान गरेको थियो ।
यसैगरी निमावि बनैनियाका प्रअ शिवचरण सिंहलाई रु चार लाख धरौटी लिई छाडिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । यस्तै भ्रष्टाचारको मुद्दा खेप्दै आएका मानराजा माविका प्रअ रमाकान्त यादवलाई गत आवमा बयानका लागि हाजिर हुन भनी पटकपटक पत्राचार गरिए पनि हाजिर नभएको बरालले बताउनुभयो । उनीमाथि थप छानबिन भइरहेको बताइएको छ ।
जिल्लाको शिक्षा क्षेत्रमा नाम चलेका प्रधानाध्यापकमाथि भ्रष्टाचारको मुद्दा लागेको छ । महेन्द्र चुन्नी जनता उच्च मावि मानराजाका प्रअ रमाकान्त यादव, उमावि शिशुवारीका प्रअ मो हुसेन, शङ्कर उमाविका प्रअ दिगम्बर साह, उमावि कुशहाका प्रअ हंशनारायण मेहता, पविमाविका पूर्व प्रअ नथुनी दास जस्ता प्रधानाध्यापकमाथि भ्रष्टाचारको मुद्दामा उजुरी परेको बताइएको छ ।
जिल्लाका कुल विद्यालयमध्ये करिब १४ प्रतिशत विद्यालयमा भ्रष्टाचार भएको भनी प्रशासनमा परेको उजुरीले सिङ्गो जिल्लाको शिक्षा क्षेत्रप्रति प्रश्नचिहृन खडा गरेको शिक्षा पत्रकार समूहका पूर्वाञ्चल अध्यक्ष शिवहर्रि्रसाद भट्टराईले बताए । ससाना बालबालिकालाई शिक्षित बनाउने जिम्मेवारी पाएका प्रअ नै भ्रष्टाचारमा लिप्त भएपछि जिल्लाको शिक्षाजगत् नै बदनाम भइरहेको भट्टराईको भनाई छ । रासस
