समाचारमंगलबार, मंसिर १८, २०७०
मेरोमा होइन अरु क्षेत्रमा धाँधली भयोः रायमाझी
एमाओवादी नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीले ४ मंसीरमा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा धाँधलीभएको दाबी गर्दै छानविनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म संबिधानसभामा सहभागी नहुने बताएका छन् ।
१७ मंसीरमा अर्घाखाँचीमा आयोजित कार्यक्रममा बोल्दै रायमाझीले आफू विजयी भएको अर्घाखाँची–१ मा स्वच्छ निर्वाचन भए पनि अन्य क्षेत्रमा भने धाँधली गरी एमाओवादीलाई हराइएको दाबी गरे । उनले भने, “अर्घाखाँची–१ का जनताले मेरो कामको मुल्यांकन गरेर जिताए, जिल्लामा निर्वाचन स्वच्छ र निष्पक्ष भएको छ तर, अन्य स्थानमा भने धाँधली गरेर एमाओवादीलाई हराउने काम भयो ।” उनले २०४७ को सम्बिाधन ब्युँताउन चाहनेहरुले एमाओवादीलाई हराएको दाबी गरेका थिए ।
रायमाझीले निर्वाचनको छानबिन नभए सडकबाट आन्दोलन शुरु गर्ने धम्कीसमेत दिए ।
उनले जिल्लाका सबै बस्ती बस्तीका समस्या सम्बोधनका लागि आफू सँधै प्रयत्नशील रहने पनि बताएका थिए ।
प्रेमनारायण आचार्य, अर्घाखाँची
