समाचारमंगलबार, मंसिर १८, २०७०
समानुपातिकबाट कसको कति सिट
निर्वाचन आयोगले समानुपातिक तर्फको सिट बाँडफाँड गरेको छ । समानुपातिक निर्वाचनमा सहभागी दललाई बोलाएर १८ मंसीरमा आयोगले सिट संख्या बाँडफाँड गरेको हो ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ १२२ दलले भाग लिएकोमा ३० दलले मात्र सिट पाएका छन् भने ९२ दल बाहिरिएका छन् ।
नेपाली कांग्रेसले ९१, नेकपा एमालेले ८४, एमाओवादीले ५४ सिट पाएका छन् । यस्तै, राप्रपा नेपाल २४, मजफो लोकतान्त्रिक १०, राप्रपा १०, मजफो नेपाल ८, तमलोपा ७, सद्भावना पार्टी ५, नेकपा माले ५ र संघीय समाजवादी पार्टीले ५ सिट पाएको आयोगले जनाएको छ ।
आयोगकाअनुसार संविधानसभामा तीन सिट पाउने राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, राष्ट्रिय मधेश समाजवादी पार्टी र नेमकिपा छन् । तमसपा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, थरुहट तराई पार्टी नेपाल, नेपाल परिवार दल र दलित जनजाति पार्टीले दुई–दुई सिट पाएका छन् ।
एक–एक सिट पाउने अखण्ड नेपाल पार्टी, नेपाली जनता दल, मजफो गणतान्त्रिक, खम्बुवान राष्ट्रिय पार्टी, नेपाः राष्ट्रिय पार्टी, जनजागरण पार्टी नेपाल, संघीय सद्भावना पार्टी, मधेश समता पार्टी नेपाल, समाजवादी जनता पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट छन् ।
एमाओवादी सहभागी भएन
आयोगले बोलाएको बैठकमा एमाओवादीसहितका केही साना दल भने अनुपस्थित भए । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका उनीहरु बैठकमा सहभागी नभएका हुन् ।
आयोगले समानुपातिकतर्फका सभासदहरुको अन्तिम नामावली बुझाउन एक हप्ताको समय दिएको छ ।
समानुतिकतर्फको पनि सिट बाँडफाँड भएपछि नेपाली कांग्रेसकातर्फबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सदस्यहरुको संख्या १९६ पुगेको छ भने नेकपा एमालेको १७५ र एमाओवादीको ८० पुगेको छ ।
