थप समाचारमंगलबार, मंसिर १८, २०७०
प्यूठानमा दुई बालिकामाथि सामूहिक बलात्कार
प्यूठानको तुषारा– ७ का दुई जना बालिकामाथि १७ मंसीर दिउँसो सामूहिक बलत्कार भएको छ । १४ र १३ वर्षीय ती बालिकाहरु सल्लाको खोटो लिन जंगल गएका बेला स्थानीय खड्कबहादुर सुनार (२५) र सुवास सुनार (२०) ले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
तुषारा–२ को छिपछिपे जंगलमा गएका दुई बालिकालाई मुखमा पट्टी बाँधेर बलात्कार गरेको बालिकाहरुले प्रहरीमा जाहेरी दिएका छन् । बलत्कृत दुबै बालिकाहरु गुहार माग्दै हिंडेका बेला अभिभावकहरुले भेट्टाएका थिए ।
बालिकाका अभिाभावकहरुले छिमेकीको सहयोगमा आरोपीमध्ये खड्कबहादुर सुनारलाई पक्राउ गरी प्रहरीमा बुझाएका छन् भने अर्का सुवास सुनार फरार भएका छन् ।
पीडित बालिकाहरुको जिल्ला अस्पताल प्यूठानमा उपचार भईरहेको छ ।
प्रमोद पोख्रेल, प्यूठान
