समाचारमंगलबार, मंसिर १८, २०७०

एमाओवादी अध्यक्ष दाहाल विरुद्ध उजुरी

हिमालखबर

सिरहा क्षेत्र नम्बर– ५ का नेकपा एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध उजुरी दिएका छन् । दाहालले बुथ कब्जा गरेर जितेको जिकिर गर्दै श्रेष्ठले १८ मंसीरमा संविधानसभा अदालतमा उजुरी दर्ता दिएका हुन् ।

उजुरी दर्ता गरे पछि रिपोर्टस क्लबमा बोल्दै श्रेष्ठले पर्यवेक्षकको प्रतिवेदन, सञ्चारमाध्यमका समाचार र मतपरिणामको तथ्याङकसहित उजुरी दिएको बताए । उनले भने, “दाहालले दुई गाविसका तीन मतदान केन्द्रअन्र्तगतका ६ वटा बुथ कब्जा गरेर अरुलाई मत हाल्न नदिई चुनाव जितेका हुन् ।”

सिरहाको कल्याणपुर कालाबन्जर गाविसको प्राथमिक विद्यालय कल्याणपुर काला बञ्जर मतदान केन्द्रको क र ख बुथ, सोही गाविसको वडा नम्बर ८ र ९ अन्र्तगतको प्राथमिक विद्यालय बडहरामालको क र ख बुथसहित ६ वटा बुथ दाहाल पक्षधर कार्यकर्ताले कब्जामा लिएको उनको दावी छ ।

उनले भने, “हाम्रा प्रतिनिधिलाई बुथमा राख्न नदिई मतदान गराईयो, हामीले धाँधली बारे तत्कालै निर्वाचन आयोगमा उजुरी गरे पनि सुनुवाई भएन ।” उनले कब्जा गरिएका क्षेत्रमा पुनः मतदान भए आफ्नो जित सुनिश्चित भएको दावी गरे ।

उनले सिरहाको जनताले दाहाललाई नजिताएको पनि जिकिर गरे । उनले भने, “दाहालले बेइमानी गरेर चुनाव जिते ।”

सिरहाका जनता आफ्नो पक्षमा रहेको पनि दावी गर्दै उनले भने, “११ गाविसमा मेरो अग्रता हुने, दुई गाविसमा मलाई भोटै नआउने अनि पुष्पकमलले जित्ने पनि हुन्छ ?”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>