समाचारबिहीबार, मंसिर २०, २०७०
आफू सच्चा जनप्रतिनिधि भएको दाहालको दाबी
२० मंसीरमा जनकपुर आइपुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमा संस्थागत र संरचनागत धाँधली भएको आरोप दोहोर्याउँदै एमाओवादीको सहयोगबिना संविधान निर्माण हुन नसक्ने दाबी गरेका छन् ।
पार्टीको कार्यक्रममा सिरहा जानका लागि विमानबाट जनकपुर ओर्लिएका अध्यक्ष दाहाल वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको कार्यालय पुगेका थिए । यहाँ सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले भने, “संविधान सभाको निर्वाचन पटक पटक हुने होइन तर, यसमा माओवादीलाई षड्यन्त्र पूर्वक हराईएको हो त्यसमा दुईमत छैन ।”
“देशको मुल कनून निर्माण गर्ने थलोमा जनताका सच्चा प्रतिनीधिहरु पुगेनन् भने फेरि पनि संविधान निर्माण सम्भव छैन, त्यसैले निष्पक्ष छानबिन कमिटि गठन गरिनुपर्छ,” दाहालले भने ।
निर्वाचनमा भएको धांधलीको निष्पक्ष छानबिन नहुँदासम्म एमाओवादी संविधानसभामा सहभागी नहुने पनि उनले बताए ।
वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष एमाओवादीकै नेता रामकुमार शर्मा रहेकाले उनलाई भेट्न दाहाल यहाँ आइपुगेका हुन् ।
मनिका झा, जनकपुरधाम
