समाचारबिहीबार, मंसिर २०, २०७०
राष्ट्रपतिको टुंगो नयाँ म्याण्डेटअनुसारः एमाले
सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा २० मंसीरमा बसेको स्थायी कमिटी बैठकले नयाँ म्याण्डेटअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको विषय टुंगो लगाउन वार्ता टोली गठन गरेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको विषय नयाँ म्याण्डेटअनुसार टुंग्याउनुपर्ने ठहर गर्दै वार्ता टोली गठन गरेको हो ।
अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा गठित वार्ता टोलीमा वरिष्ठ नेता माधवकुमार नेपाल, नेता केपी ओली, उपाध्यक्षद्वय वामदेव गौतम तथा विद्या भण्डारी र महासचिव ईश्वर पोखरेल छन् ।
वार्ता टोलीले सरकार, राष्ट्रपति र उपराष्ट्रपति लगायतका विषयमा सहमति र सहकार्यका लागि कांग्रेससहित अन्य दलसँग पहल गर्ने एमाले सचिव शंकर पोख्रेलले हिमालखबरलाई बताए । उनले भने, “हामी संविधानमा व्यवस्था भएबमोजिम राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने पक्षमा छौं ।”
