समाचारशुक्रबार, मंसिर २१, २०७०
नेल्सन मण्डेलाको निधन
लामो समयदेखि विरामी रहेका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्शन मण्डेलाको जोहान्नेसबर्गस्थित आफ्नै घरमा निधन भएको त्यहाँका राष्ट्रपति ज्याकब जुमाले घोषणा गरेका छन् ।
लामो समयदेखि अस्पतालमा रहेका मण्डेलाको गत सेप्टेम्बरदेखि घरमै उपचार भइरहेको थियोे ।
राष्ट्रपति जुमाले टेलिभिजनबाट शोक बक्तव्य जारी गर्दै भनेका छन्, “मेरा दक्षिण अफ्रिकि जनताहरु, हाम्रा प्रिय नेल्सन होलिसासा मण्डेला हाम्रो प्रजातान्त्रिक देशका संस्थापक राष्ट्रपतिले हामीलाई छाडेर गएका छन्। आफ्नै परिवारका माझ उनको निधन भएको छ ।”
५ डिसेम्बर राति ८:५० मा आफ्ना परिवारसँगै रहेका मडिबाले सबैलाई अलविदा भनेर गए । दक्षिण अफ्रिकीहरु मण्डेलालाई माया गरेर उनको खान्दानी नाम ‘मडिबा’ले सम्बोधन गर्थे ।
राष्ट्रपति जुमाले अगाडि भनेका छन, “हाम्रो राष्ट्रले सबैभन्दा महान सपुत गुमाएको छ, हामीले आफ्ना अभिभावक गुमाएका छौं, हामीलाई थाहा थियो यस्तो दिन पनि आउनेछ भन्ने तर, उहाँको निधनबाट जुन क्षति भएको छ त्यो अपूरणीय छ ।”
नेल्सन मण्डेलासँगै सन् १९९३ मा नोबेल शान्ति पुरस्कार पाएका दक्षिण अफ्रिकाकै पूर्व राष्ट्रपति एफ डब्ल्यू डि क्लार्कले मण्डेललाई कुनै कटुता र वैरीभाव नभएका सन्त व्यक्तित्व भनेका छन् । क्लार्क दक्षिण अफ्रिकामा रंगभेद विरोधि आन्दोलन चरममा पुगेका बेलाका गोरा राष्ट्रपति हुन् । उनकै सरकारविरुद्ध मण्डेलाको नेतृत्वमा आन्दोलन भएको थियो ।
क्लार्कले भनेका छन, “उनले आफ्नो सिद्धान्तसँग कुनै सम्झौता गरेनन्, उनले यहाँका गोराहरुको चिन्तालाई पनि ध्यानमा राख्थे र आफ्नो दल अफ्रिकी नेशनल कांग्रेसप्रति समर्पित थिए । त्यसैले हामीबीचको सम्झौताले दक्षिण अफ्रिकाले उम्दा संविधान पाउन सक्यो ।”
नेल्सन मण्डेला विश्वकै उच्चकोटीका नेताहरुमध्येमा गनिन्थे । उनको निधनपश्चात विश्वभरकै नेताहरुले शोक वक्तव्य जारी गरेका छन् ।
राष्ट्रपति जुमाले मण्डेलाका राजकीय अन्त्येष्टि नसकिउञ्जेल दक्षिण अफ्रिकी झण्डा आधा झुकाइने बताए। मण्डेलालाई श्रद्धात्र्जली प्रकट गर्नाका निम्ति जोहानेसबर्गको हाउटन क्षेत्रस्थित उनको निवास सामु ठूलो भींड जम्मा भएको छ।
कतिपयले रंगभेद विरोधी आन्दोलनताका गाइने गीत गाएका छन्। भीडमा गोरा काला सबैले उनको निधनमा गहिरो दुख प्रकट गरेका छन्।
नेल्सन मण्डेलाको जीवन दक्षिण अफ्रिकाको ग्रामीण ट्रान्सभालमा शुरु भएको थियो। त्यतिबेला दक्षिण अफ्रिकामा अश्वेत विद्यार्थीलाई पढाउने एउटै मात्र विश्वविद्यालयबाट उनले वकिलको शिक्षा लिए।
त्यसपछि रंगभेदवादी सरकारको सशक्त विरोधमा उत्रिएको अफ्रिकन नेशनल कंग्रेससंग उनी आबद्ध भए। उनको गतिविधिबाट रुष्ट सरकारले उनलाई आजीवन कारावासको सजाय दियो।
२७ वर्षको जेल जीवनपछि उनी सन् १९९० मा मुक्त भए र चार वर्षपछि दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपतिमा उनी निर्वाचित भए।
पाँच वर्षको एउटा कार्यकालपछि उनले पद सम्हालेनन्। तर अन्तर्राष्ट्रिय जगतमै उनको उँचो व्यक्तित्व कायम रह्यो।
उनको निधनप्रति विश्व नेताहरुले गहिरो दुख प्रकट गरेका छन्।
अमेरिकि राष्ट्रपति ओबामाले उनले कुनै पनि मानिसले आफ्नो जीवनमा गर्नसक्ने भन्दा धेरै हासिल गरेको प्रतिक्रिया दिएका छन्।
मण्डेलाले प्रस्तुत गरेको उदाहरण विना आफ्नो जीवन सोच्न समेत नसक्ने ओबामाले बताए।
त्यस्तै राष्ट्रसंघका महासचिव बान कि मुनले उनलाई न्यायका निम्ति लड्ने प्रखर व्यक्तिको रुपमा सम्झना गरे।
“उनको निस्वार्थ संघर्षले विश्व भर कैयौंलाई प्रभावित पारेको थियो,” मुनले बताएका छन् ।
एजेन्सीहरु
