थप समाचारशुक्रबार, मंसिर २१, २०७०
गैरकानुनी रुपमा बालगृह संचालन
संखुवासभामा गैरकानुनी रुपमा बालगृह संचालन गरिएको भेटिएको छ । अनुमति नै नलिई बालगृह संचालन भइरहेको भेटिएको बाल कल्याण समिति संखुवासभाका अधिकृत सुमन अधिकारीले बताए ।
संखुवासभामा संचालित पाँच वटामध्ये हिमाली चिल्ड्रेन होम बिना दर्ता संचालन भइरहेको भेटिएको हो । दर्ता नै नगरी संचालनमा रहेको भेटिएपछि समितिले हिमाली चिल्ड्रेन होमलाई कारवाहीको तयारी गरेको छ ।
बालगृहमा भएका बालबालिकाको संख्या, अभिभावकको स्वीकृति भए नभएको, अनुमति लिएको बारे पटकपटक जानकारी माग्दा पनि बेवास्ता गरेकाले कारवाहीको तयारी गरेको अधिकारीले जानकारी दिए ।
संखुवासभामा मकालु त्रिशक्ती समूह, हिमालय एजुकेशन फाउण्डेशन, अरुण उपत्यका बालगृह, हिमाली चिल्ड्रेन होम र अनाथलय माम्लिङ गरी पाँच वटा बालगृह छन् । अहिले मकालु त्रिशक्ती समूहमा १२ जना र हिमाली चिल्ड्रेन होममा २० जना बालबालिका छन् । अरु बालगृहमा अहिले बालबालिका नभएको समितिले जनाएको छ ।
छेटु शेर्पा, संखुवासभा
