थप समाचारशुक्रबार, मंसिर २१, २०७०
विवाह पञ्चमीका दिन मिथिलामा विवाह हुँदैन
करिब नौ लाख वर्षपूर्व त्रेतायुगमा मार्गशुक्ल पञ्चमी तिथिमा मिथिलाका राजा जनककी छोरी सीताको विवाह अयोध्याका राजा दशरथका जेठा छोरा रामसँग श्रवण नक्षत्र, सोमबारका दिन भएको धर्मशास्त्रमा उल्लेख छ ।
विवाहपञ्चमीका नामले प्रख्यात यो दिन यस वर्ष शनिबार २२ मंसीरमा परेको छ । राम र सीताको विवाहको भएको दिनको सम्झनामा प्रत्येक वर्ष मार्गशुक्ल पञ्चमीमा त्रेता युगकै झझल्को आउने गरी जनकपुरमा विवाहपञ्चमी मनाइन्छ ।
तर, उक्त दिन छोरीको विवाह गर्दा छोरीले सीताले जस्तै दुःखकष्ट पाउने लोकविश्वासले गर्दा मिथिलामा यसदिन बिवाह हुँदैन । शास्त्रका अनुसार विवाहपछि सीताले १४ वर्षको वनवास बेहोरेकी थिइन् भने आफ्नो पवित्रताका लागि उनले अग्निपरीक्षा दिनु परेको थियो । तैपनि पुनः वनवास जान वाध्य भएकी सीता अन्त्यमा पृथ्वीको गर्भमा लुप्त भएकी थिइन् ।
एउटा लोकोक्तिका अनुसार गर्भवती अवस्थामा समेत अत्यन्तै कष्ट पाएकी सीताबारे मिथिलावासीले खोजखबर नलिएपछि उनले विवाह पञ्चमीका दिन मिथिलामा जुन कन्याको विवाह हुन्छ त्यसले म जस्तै दुःख पाउन भनेर श्राप दिएकी थिइन् । वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल भन्छन्, “यही लोकविश्वासका कारण मैथिलीवासीले विवाहपञ्चमीका दिन आफ्नो कन्याको विवाह गराउँदैनन् ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसारको भनाइ भने फरक छ । उनी यो दिनमा विवाह गर्नु अति उत्तम हुने बताउँछन् । अहिले विस्तारै पूरानो मान्यतामा परिवर्तन हुँदै गएको र अभिभावकले बरवधुलाई ‘राम–सीता जस्तै आदर्श जोडी बन्नु’ भन्ने आशिष दिन थालेको महन्थको भनाई छ ।
रासस

