समाचारशनिबार, साउन ६, २०६९
बलात्कार अभियोगमा एमाओवादी स्थानीय नेता पक्राउ
सिगास-४ का रामसिँह साउद ‘रोशन’लाई गाँजरी प्रहरी चौकीले घरबाटै नियन्त्रणमा लिएको हो । गत असार ३० गते आफन्त पर्ने एक १७ वर्षीया किशोरीलाई सदरमुकाम आउने बेला बैतडीकै पाटनमा बलात्कार गरेको भन्ने पीडित किशोरीको आफन्तको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
नागरिकताको प्रमाणपत्र बनाइदिने भन्दै मोटरसाइकलमा राखेर सदरमुकाम ल्याउने क्रममा पाटन बजारस्थित होटेल पानस प्यालेसमा बास बसेका बेला साउदले निज किशोरीलाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्नआएको बैतडीका प्रहरीनायब उपरीक्षक विष्णुबहादुर कार्कीले बताए ।
उक्त घटनाबारे कुनै कुरा सार्वजनिक गरेमा ज्यान मार्ने धम्की दिएकाले नागरिकताको प्रमाणपत्र बनाएर किशोरी घर फर्केपछि मात्र यसबारे थाहा भएको आफन्तजनले बताएका छन् । बलात्कृत किशोरीको जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गरिए पनि रिपोर्ट आउन बाँकी रहेको प्रहरीले बताएको छ । पीडित पक्षले कानुनी सहयोगका लागि अन्तरपार्टी महिला साजालमा समेत निवेदन दिएको साजालले बताएको छ । रासस
