थप समाचारशुक्रबार, मंसिर २१, २०७०

युगकै नेता मडिबा

हिमालखबर

वानिता मालागोन

फाइल तस्वीर: सिन्ह्वा

नश्लवाद र विभेद विरुद्ध सार्वभौम संघर्षको प्रतीकका रूपमा स्थापित दक्षिण अफ्रिकी नेता मण्डेला कहिल्यै नेपाल नआए पनि विश्वका अरू ठाउँमा जस्तै यहाँ पनि प्रिय छन् । अहिंसावादी राजनीतिक संघर्षको जीवित आख्यान बनेका मण्डेलाले दशक लामो हिंस्रक द्वन्द्व व्यहोरेका नेपालीहरूको मनमा पनि गहिरो छाप छोडेका छन् ।

दक्षिण अफ्रिकाको रंगभेद विरोधी संघर्षपछि मण्डेलाको नेतृत्वमा भएकोे शान्ति र मेलमिलापको प्र्रक्रियालाई नेपालमा पनि ‘मोडेल’ का रूपमा लिइएको थियो । नेपालको हिंसात्मक द्वन्द्वपछिको अवस्थालाई सामान्यीकरण गर्ने प्रयासस्वरुप सन् २००६ पछि धेरै नेपाली नेताहरूले दक्षिण अफ्रिका पुगेर अनुभव बटुलेका थिए ।

नेपालमा दशक लामो हिंसात्मक द्वन्द्वका वेला भएका मानवअधिकार विरुद्धका अपराधहरूमा कार्वाही चलाउन त्यस्ता अपराधीहरूलाई अदालती प्रक्रिया विना नै सार्वजनिक सुनुवाइ मार्फत कार्वाही गर्ने दक्षिण अफ्रिकी मोडेलको अनुसरण गर्न माग भइरहेको छ । अहिले काठमाडौंमा शक्ति र सत्ता सुखमा रमाइरहेका द्वन्द्वका दुवै पक्षहरू भने पुराना मुद्दाहरू बिउँताउँदा सम्पूर्ण शान्ति प्रक्रिया नै खतरामा पर्ने दाबी गरिरहेका छन् ।

मण्डेलालाई सन् १९९६ मा भेटेका युनिसेफका पूर्व अधिकारी कुलचन्द्र गौतम उनले दक्षिण अफ्रिकाका जातीय क्षेत्रका विपक्षीहरूको कल्याणका लागि गरेको प्रयासहरू सम्झँदै भन्छन्, “अश्वेतहरूको राज्य बनाउने प्रस्तावको सट्टा कसरी नेल्सन मण्डेलाले बहुजातीय, बहुसांस्कृतिक संघीयता सहितको समृद्ध दक्षिण अफ्रिकाको निर्माण गरे भन्ने हामी नेपालीले राम्रोसँग बुझ्नु जरूरी छ, ।”

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि रहेको वेला रंगभेदविरोधी राष्ट्रसंघीय समितिको नेतृत्व गरेका जयराज आचार्य मण्डेला महान नेता मात्रै नभई विनम्र मानिस पनि थिए भनी सम्झन्छन् । सेवाकालमा मण्डेलालाई भेटेका आचार्यले बीबीसी नेपाली सेवासँग भनेका छन्, “नेपाली नेताहरूले मण्डेलाको नेतृत्वसीप, सत्यनिष्ठा र अतिकम राजनीतिक महत्वाकांक्षाबाट धेरै सिक्न सक्छन् । विपक्षीहरूसँग मण्डेलाले गरेको सहकार्य हाम्रो संविधान निर्माणका लागि महत्वपूर्ण सन्देश हुन सक्छ । ”

मण्डेला जुलाई २००८ को टाइम्स पत्रिकको कभरमा छापिएका थिए ।

सन् १९९९ मा गणेशमान सिंह ट्रष्टले नेल्सन मण्डेलालाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान गरेको थियो । यद्यपि पुरस्कार लिन मण्डेला नेपाल आउन भ्याएनन् । १० हजार डलर राशीको उक्त पुरस्कार मण्डेलालाई स्वतन्त्रताका लागि उनले गरेको योगदानका लागि दिइएको थियो ।

पूर्व राजा ज्ञानेन्द्र शाह लगायत अन्य नेपाली नेताहरूले पनि नेल्सन मण्डेलालाई भेट्ने प्रयास गरेका थिए । त्यसवेला मिडियामा आएका रिपोर्ट अनुसार सन् २००५ मा दक्षिण अफ्रिका गएका पूर्व राजा ज्ञानेन्द्र शाहले नेल्सन मण्डेलासँग तस्वीर खिचाउन समय मागेका थिए, तर पाएका थिएनन् ।

मण्डेला आधुनिक विश्व इतिहासमै सर्वाधिक सम्मानित राजनेता थिए । इतिहासले उनलाई रंगभेद विरोधी नेता र दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपतिभन्दा ठूलो व्यक्तित्व सम्झनेछ । उनी विद्यालय, अस्पताल, संग्रहालय, रंगशाला, बगैंचा, फूल र परमाणु कण जस्ता तुलनात्मक रूपमा स–साना क्षेत्रमा पनि सम्झिइने छन् जसको नाम मण्डेलाकै नामबाट राखिएको छ ।

विश्वका मानिसहरूले शान्ति र समताका लागि नेल्सन मण्डेलाको योगदानलाई सम्झन्छन् । आफ्नो चार दशककोे सार्वजनिक जीवनमा मण्डेलाले विश्वका विभिन्न विश्वविद्यालयबाट ५० वटा मानार्थ विद्यावारिधिको उपाधि पाए भने नोबेल शान्ति पुरस्कार सहित २५० भन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कार र मानसम्मान पाएका थिए ।

१८ जुलाई १९१८ मा दक्षिण अफ्रिकाको उमाटाटुमा जन्मिएका मण्डेला सानै उमेरदेखि बलियो, हँसमुख र सबैसँग सहकार्य गर्ने स्वभावका थिए । उनको यस्तो व्यक्तित्वबाट प्रभावित शिक्षकले विद्यालयको पहिलो दिनमा मण्डेलालाई ‘नेल्सन’ नाम जुराइदिए । किशोर छँदादेखि नै मण्डेला साम्राज्यवाद विरोधी विचारधाराबाट प्रभावित थिए तर, उनले यूरोपेली उपनिवेशवादलाई संरक्षक र पीडक दुवै ठानेनन् । विद्यालयमा अंग्रेज संस्कृति र सरकारको श्रेष्ठता पढाइए पनि उनी अफ्रिकी संस्कृतिमा औधी रुचि राख्थे ।

२० वर्षको उमेरदेखि राजनीतिमा प्रवेश गरेका मण्डेला महात्मा गान्धीबाट निकै प्रभावित थिए । सन् १९४८ मा रंगभेदवादी नेशनल पार्टीले दक्षिण अफ्रिकामा निर्वाचन जितेपछि मण्डेलाले जातिभेद र रंगभेदविरुद्ध अहिंसात्मक संघर्ष शुरू गरे । त्यसवेला दक्षिण अफ्रिकामा काला जातिका नागरिकहरूलाई मताधिकार समेत थिएन ।

१९६२ मा सरकारविरुद्ध षडयन्त्र र ध्वंस गरेको आरोपमा पक्राउ परेका मण्डेलालाई दुई वर्षपछि जन्मकैदको सजाय सुनाइयो जुन पछि जन्म कैदमा परिणत भएको थियो ।

मण्डेलाले त्यसपछिको २७ वर्ष रोब्बेन टापुस्थित जेलमा बिताए । उनले ६ महीनामा एकपटक एक जना आफन्तसँग भेट्न पाउँथे । उनलाई लम्पसार पर्न नमिल्ने साँघुरो खोरमा राखिएको थियो । यद्यपि, उनी सन् ८० को दशकमा विश्वकै प्रसिद्ध राजबन्दी बनिसकेका थिए । देशी विदेशी दबाबस्वरुप दक्षिण अफ्रिकी सरकारले उनलाई १९९० को फेब्रुअरीमा रिहा गर्‍यो ।

त्यसपछिका समय मण्डेलाले नश्लवादी–रंगभेदी व्यवस्था अन्त्यका लागि समन्वय र सहमति गर्नमा खर्चे । १९९४ को निर्वाचनबाट दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति भएपछि पहिलेका शासक एवम् अल्पसंख्यक गोराहरूप्रति प्रतिशोध लिने विश्वको अनुमान विपरीत मण्डेलाले विभिन्न वर्ग, रंग र जातिमा विभाजित दक्षिण अफ्रिकी जनतामाझ मेलमिलाप गराई राष्ट्रिय एकता कायम गरे ।

मण्डेला नेतृत्वको सरकारले रंगभेदको निराकरण, नश्लवादको अन्त्य, गरीबी र असमानता हटाउनमा जोड दियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा मेलमिलापका लागि उनले गरेको पैरवीका कारण अन्तर्राष्ट्रिय जगतमा मण्डेलाको प्रतिष्ठा चुलियो ।
सन् १९६४ मा दिएको ‘स्पिच फ्रम द डक’ शीर्षकको वक्तव्यमा मण्डेलाले भनेका छन्, “मैले श्वेत वर्चस्वको विरुद्ध लडाइँ लडें, अश्वेत वर्चस्वका विरुद्ध पनि लडें । मैले सबै मानिसहरू समान अवसर र सद्भाव राखेर एकैसाथ बस्ने प्रजातान्त्रिक समाजलाई आफ्नो आदर्श मानेको छु । यही आदर्श प्राप्त गर्ने र यस्तै समाजमा रहने आशा राखेको छु । आवश्यक पर्छ भने म यो आदर्शका लागि मर्न तयार छु ।”

सन् १९९९ पछि उमेरका कारण सार्वजनिक जीवनमा सक्रिय नरहेका मण्डेला ५ डिसेम्बर २०१३ मा संसारबाट विदा भए । गत एक वर्षदेखि उनको स्वास्थ्य विश्वमै हेडलाइन बनिरहेको थियो । आज मडिबा (मण्डेलालाई प्रेमपूर्वक बोलाइने उनको खानदानी नाम) यो युगको विश्व नेताका रूपमा चिनिएका छन् । श्रद्धाञ्जली ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>