समाचारशुक्रबार, मंसिर २१, २०७०
जनमोर्चाले र परिवार दलले सभासद छाने
समानुपातिक निर्वाचन प्रणालीमार्फत तीन सिट जितेको राष्ट्रिय जनमोर्चाले अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल र अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मिना पुनलाई सभासद बनाउने निर्णय गरेको छ ।
केसी र पून पूर्व सभासद हुन । पहिलो पटक सभासद बन्न लागेकी पौडेल मसालका महामन्त्री मोहनविक्रम सिंहकी पत्नी हुन ।
परिवार दलबाट पनि सिफारिस
त्यसैगरीे समानुपातिक तर्फको निर्बाचनमा दुई सिट जितेको नेपाल परिवार दलले पनि सभासद्को नाम सिफारिस गरेको छ ।
परिवार दलको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष एकनाथ ढकाल र झापाकी मिलनकुमारी राजवंशीलाई सिफारिस गरेको हो ।
पहिलो संविधानसभामा एक सिट जितेको परिवार दलबाट पार्टी अध्यक्ष ढकाल सभासद् थिए । महिला र मधेसी जनजातिका तर्फबाट राजवंशीको नाम सिफारिस गरिएको अध्यक्ष ढकालले बताए ।
बैठकले सरकारलाई समर्थन वा प्रतिपक्षमा बस्ने निर्णय गर्न अध्यक्ष ढकाललाई र चुनावको परिणाम तथा सहभागिताबारे प्रतिवेदन प्रस्तुत गर्न महामन्त्री विनोद डाँगीलाई जिम्मेवारी दिएको छ ।
