समाचारशनिबार, मंसिर २२, २०७०
अधिकारीको हत्या अभियोगमा पौडेल पक्राउ
२४ जेठ २०६१ मा माओवादीद्वारा हत्या गरिएका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा प्रहरीले २१ मंसीर राति चितवन भरतपुरका परशुराम पौडेललाई पक्राउ गरेको छ ।
मृतकका कृष्णप्रसादका दाजु नुरप्रसाद अधिकारीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले पौडेललाई पक्राउ गरेको हो ।
एसएलसी परीक्षा दिएर हजुरबुवालाई भेट्न चितवन गएका गोर्खा फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारीका छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालिन माओवादीले पूर्वी चितवनको रत्ननगरबाट अपहरण गरी हत्या गरेको थियो ।
केही महिना अगाडि अधिकारी हत्यामा संलग्न रहेको भन्दै गोर्खा फुजेल–४ का रामप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरे पनि प्रमाण नपुगेको भन्दै तत्कालिन महान्यायाधिवक्ता मुक्ति प्रधानको ठाडो आदेशमा सरकारी वकिलको कार्यालय चितवनले कुनै पनि प्रक्रिया अगाडि नबढाई रिहा गरेको थियो ।
पक्राउ परेका पौडेलको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सञ्जयबहादुर राउतले बताएका छन् ।
छोराको हत्यारालाई पक्राउ गरी कारबाहीको माग गर्दै नन्दप्रसाद र गंगामाया पछिल्लो पटक डेढ महिनादेखि काठमाडौँमा आमरण अनशनमा बसेका छन् । पक्राउ परेका पौडेल नारायणगढस्थित सत्यम् जेवियर्स स्कुलका सञ्चालक एवम् जग्गा व्यापारी हुन् ।
रासस
