समाचारशनिबार, मंसिर २२, २०७०
एमाओवादीको चरित्र अवसरवादीः माओवादी नेता गजुरेल
नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले निर्वाचन सम्पन्न हुँदावित्तिकै युगान्तकारी मतदान भयो भन्ने प्रतिक्रिया दिएको एमाओवादीले मतगणना शुरुभएसँगै धाँधली भयो भन्नु अवसरवादी चरित्र भएको बताएका छन् ।
२२ मंसीरमा काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा गजुरेलले भने, “निर्वाचनका दिन ऐतिहासिक र युगान्तकारी मतदान सम्पन्न भो भनेर वक्तव्य निकाल्ने अनि मतगणना शुरु भएपछि मध्यरातमा निर्वाचन धाँधली भो भन्ने यो अवसरवादी चरित्र हो कि होइन ? ”
निर्वाचनपछि एमाओवादी र नेकपा–माओवादीबीच एकीकरण हुने चर्चा चले पनि गजुरेलले एमाओवादीसँग पार्टी एकता गर्नुको कुनै औचित्य नहुने भन्दै त्यस्तो सम्भावना नभएको बताएका छन् ।
एमाओवादीबाट गत वर्ष अलग भई मोहन वैद्यको अध्यक्षतामा नेकपा–माओवादी पार्टी गठन भएको थियो । ४ मंसीरको संविधानसभामा भाग नलिएको नेकपा–माओवादीका उपाध्यक्ष गजुरेलले निर्वाचनमा भाग लिई संविधानसभामा तेस्रो स्थानमा ओर्लेको एमाओवादीसँग कार्यगत एकताको कुनै औचित्य नरहेको समेत बताए ।
संविधानसभाबाटै संविधान जारी गर्ने भए सबै पार्टी बीचमा सहमति र सहकार्य आवश्यक भएको भन्दै गजुरेलले यसका लागि आफ्नो पार्टी तयार रहेको बताए । उनले नेकपा–माओवादी मन्त्रिपरिषद मनोनित हुने २६ सिट लिएर संविधानसभामा सहभागी नहुने पनि प्रष्ट पारे ।
साक्षात्कारका अर्का वक्ता नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले नेपाली जनताले पार्टीलाई दिएको जनादेशअनुसार एक वर्षभित्रमा संविधानसभाबाट संविधान जारी गर्न पार्टीले सबै दलसँग सहकार्य गर्ने बताए ।
उनले भने, “जनताले दललाई दिएको जनादेश संविधान बनाऊ भन्ने हो, राष्ट्रपति र उपराष्ट्रपति नयाँ बनाऊ भन्ने होइन, यस्ता कुरामा आफ्नो पार्टी अल्झिदैन ।”
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता परशुराम खापुङले पनि राष्ट्रपति र उपराष्ट्रपतिलाई अहिले विवादमा तान्न नहुने बताएका थिए भने सद्भावना पार्टीका उपाध्यक्ष सञ्जय साहले निर्वाचनबाट आएको जनादेशलाई सबैले स्वीकार गर्नुपर्ने बताए ।
