समाचारशनिबार, मंसिर २२, २०७०

कांग्रेस–एमाले वार्ताः सँगै हिँड्ने सहमति

हिमालखबर

४ मंसीरमा सम्पन्न संविधानसभा सदस्य निर्वाचनपछि पहिलो पटक नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले औपचारिक छलफल गरी राजनीतिक अभिभारालाई पूरा गर्न आपसी समझदारीका साथ सहकार्य गर्दै अघि बढ्ने लिखित सहमति भएको छ ।

दुई दलले एमाओवादीलगायत अन्य दलसँग तत्कालै वार्ता र संवाद प्रारम्भ गर्ने समझदारी गरेका छन् ।

बबरमहलस्थित शान्ति कोष सचिवालयमा २२ मंसीर साँझ भएको वार्तापछि कांग्रेस सभापति सुशील कोइराला र एमालेका अध्यक्ष झलनाथ खनालले आपसी समझदारी गर्नेसहित तीनबुँदे निर्णयमा हस्ताक्षर गरेका छन् ।

करिब चार घण्टा चलेको बैठकपछि जारी विज्ञप्तिमा ४ मंसीरमा सम्पन्न संविधानसभाको निर्वाचन आमरूपमा स्वतन्त्र, शान्तिपूर्ण र निष्पक्षरूपले सम्पन्न भएकोमा सम्बन्धित सबै पक्षलाई हार्दिक धन्यवाद दिइएको छ ।

त्यसैगरी दुई दलकै बैठक स्थलबाट एमाओवादीका नेताबीच अनौपचारिक कुरा भई २३ मंसीरमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवासमा एमाओवादी र कांग्रेसका नेताबीच वार्ता हुने जनाइएको छ ।

निर्वाचनबाट तेस्रो दल बनेको एमाओवादीलगायत केही दलले निर्वाचनमा धाँधली भएको भन्दै संविधानसभामा जानुपूर्व केही शर्तअघि सारेको सन्दर्भमा एमाओवादीसँग औपचारिक छलफल गर्ने सहमति भएको हो ।

एमाओवादी र कांग्रेसको वार्तापछि एमाओवादी र एमालेका नेताबीच वार्ता हुनेछ ।

वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले काग्रेस र एमालेबीच मिलेर सँगै अघि बढ्ने सहमति भएको बताए ।

उनले वर्तमान राजनीतिक स्थितिका बारेमा एमाओवादीलगायत सबै दलसँग आफूूहरूले वार्ता गर्ने जानकारी दिए ।

राष्ट्रपतिको नयाँ निर्वाचनलगायतका शक्ति बाँडफाँडका सम्बन्धमा भने छलफल नभएको पौडेलको दाबी थियो । एमालेका महासचिव ईश्वर पोखरेलले पनि सत्ता गठबन्धनबारे अहिले कुनै निर्णय नभएपनि दुई ठूला दल सँगसँगै अघि बढ्न औपचारिक सहमतिमा पुगेको बताए ।

गोलमेच सम्मेलनको माग गरिरहेको एमाओवादीबाट विभाजित नेकपा–माओवादीको मोर्चासँग पनि दुई दलले वार्ता गर्ने बैठकले निर्णय गरेको छ ।

वार्तामा कांग्रेसबाट सभापति कोइराला, उपसभापति पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष चित्रलेखा यादव, नेता पूर्णबहादुर खड्का तथा एमालेबाट अध्यक्ष खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्षहरू वामदेव गौतम, विद्यादेवी भण्डारी र महासचिव पोखरेल सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>