समाचारआइतबार, मंसिर २३, २०७०

परशुराम पक्राउ परेकोमा बाबुरामको आपत्ति

हिमालखबर

गोरखा फुजेल–७ का कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा प्रहरीले चितवनका एमाओवादी कार्यकर्ता परशुराम पौडेललाई पक्राउ गरेकोमा एमाओवादी नेता बाबुराम भट्टराईले आपत्ति प्रकट गर्दै त्यसबेला आफू ‘समानान्तर क्रान्तिकारी सरकार प्रमुख’ भएकोले आफूलाई पक्राउ गर्न वर्तमान सरकारलाई चुनौति दिएका छन् ।

२४ जेठ २०६१ मा एसएलसी परीक्षा दिएर हजुबुवा भेट्न चितवन गएका गोरखा फुजेलका १७ वर्षीय कृष्णप्रसाद अधिकारीलाई तत्कालिन माओवादीले अपहरण गरी यातना दिएर हत्या गरेको थियो ।

हत्या गर्नेहरुविरुद्ध अधिकारीका आफन्तले प्रहरीमा किटानीमा जाहेरी दिए पनि अहिलेसम्म कसैलाई कर्वाही भएको छैन । यसअघि अधिकारीको हत्या आरोपमा गोरखाकै रामप्रसाद अधिकारी पक्राउ परेको भए पनि तत्कालिन महान्यायाधिवक्ता मुक्ति प्रधानको ठाडो आदेशमा चितवनका सरकारी वकिलले प्रमाण नपुगेको भन्दै रामप्रसादविरुद्ध मुद्दा नचलाएपछि उनी रिहा भएका थिए ।

त्यसबेला पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले रामप्रसाद पक्राउको विरोध गर्दै आफूले हत्याका लागि आदेश दिएको भन्दै ‘हिम्मत भए मलाई कार्वाही गर’ भनेका थिए ।

यता विगत ५० दिनदेखि आफ्ना छोराका हत्यारालाई कार्वाहीको माग गर्दै अधिकारीका बाबु–आमा नन्दप्रसाद र गंगामाया वीरअस्पतालमा अनशनरत छन् । उनीहरुको स्वास्थ्य अवस्था गम्भीर भएको चिकित्सकले जनाएका छन् ।

फेसबुक मार्फत भट्टराइले छोराका हत्यारालाई कार्वाहीको माग गर्दै अनशन बसेका नन्दप्रसाद र गंगामायाको भोकहडताललाई समेत दुर्नियतपूर्ण भनेका छन् ।

बाबुराम भट्टराईले ट्विटरमा परशुराम पौडेलको पक्राउ विस्तृत शान्ति संझौताको उल्लंघन भएको दाबी गरेका छन् । उनले सरकारलाई सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न वा आफूलाई पक्राउ गर्न भन्दै धम्की दिएका छन् ।

बाबुराम भट्टराई नेतृत्वको सरकारले सिफारिस गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी अध्यादेशमा हिंसात्मक द्वन्द्वका बेला मानवता विरोधी अपराध गर्नेहरुलाई पनि सजिलै माफी दिन सकिने खालको प्रावधान भएकाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट त्यसको विरोध भइरहेको छ भने अहिलेसम्म उक्त अध्यादेश राष्ट्रपतिले जारी गर्न सकेका छैनन् ।

भट्टराईले शान्ति र मेलमिलाप विरोधी तत्वको उकसाहटमा वर्तमान सरकारले पौडेललाई पक्राउ गरेको आरोप लगाएका छन् ।

मानवअधिकार विरुद्ध अपराध गर्नेहरुलाई अदालती प्रक्रिया बिना नै सार्वजनिक सुनवाई मार्फत कार्वाही गरी समाजमा शान्ति स्थापना गराएका दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको निधनपछि उनको गुनगान गाएका भट्टराईले नेपालमा भने छोराका हत्यारालाई कार्वाहीको माग गर्दै अधिकारी दम्पतीले गरेको भोकहडताललाई दुर्नियतपूर्ण भनेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, “ कसैले दुर्नियतपूर्ण ढंगले भोकहड्ताल गर्यो भन्दैमा TRC गठन गर्नुको साटो यसरी मुद्दा चलाउन थाल्ने हो भने द्वन्दकालमा दुवै पक्षद्वारा मारिएका र वेपत्ता पारिएका १७ हजार परिवारले भोकहड्ताल गरे भने के गर्ने ? ”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>