थप समाचारमंगलबार, मंसिर २५, २०७०
यात्रुबाहक बसमा बम प्रहार गर्ने रिहा
नारायणगढ–मुग्लिन सडकखण्डको चितवन कविलासमा गुडिरहेको बसमा पेट्रोल बम प्रहार गरेको अभियोगमा पक्राउ परेका नेकपा–माओवादीका कार्यकर्ता रिहा भएका छन् । जिल्ला अदालत चितवनले २४ मंसीरमा शक्तिखोरका २८ वर्षीय छलाङ उपनामका नवीन बिसीलाई धरौटीमा रिहा गरेको हो ।
यात्रुबाहक बसमा २६ कात्तिकमा आगजनी गरेको अभियोगमा पक्राउ परेका उनलाई प्रहरीले पक्राउ गरी बिष्फोटक पदार्थ ऐन तथा हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा चलाएको थियो । उनी नेकपा–माओवादीका राज्य समिति सदस्य तथा राष्ट्रिय युवा जनस्वयम्सेवकका सदस्य हुन् ।
अदालतले विष्फोटक पदार्थ ऐनअन्तर्गत पाँच हजार रुपैंया धरौटीमा छाडेको भए पनि उनीमाथि चलाइएको हातहतियार तथा खरखजाना ऐनअन्तर्गतको मुद्दा भने जिल्ला प्रशासन कार्यालय चितवनमा विचाराधीन रहेको छ ।
उनलाई सर्लाहीबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ४७३४ नम्बरको यात्रुबाहक बसमा पेट्रोल बम प्रहार र भरतपुरको रामनगरस्थित टङ्कनाथ न्यौपानेको घर अगाडि बम राखेको अभियोग छ ।
उनलाई भरतपुर– १२ टाउनबाट २ मंसीरमा प्रहरीले पक्राउ गरेको थियो । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको अभियोगमा पक्राउ परेका अन्य भने यसअघि नै रिहा भइसकेका छन् ।
रासस
