थप समाचारमंगलबार, मंसिर २५, २०७०
६ छोरा, ६ छोरी, ४० नातिनातिनी
रुकुमको चौखावांग–९ की खिर्मीदेवी खत्री (६१) लाई ‘दुई सन्तान ईश्वरको वरदान’ भन्ने सरकारी नारा हैन, ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भन्ने पिता–पूर्खाले दिएको आशिषले फलिफाप भयो । १८ सन्तान जन्माएकी उनी अहिले ४० नातिनातिनीका धनी छिन् ।
१६ वर्षको उमेरमा विवाह गरेकी खिर्मीदेवीले १७ वर्षको उमेरमा पहिलो सन्तानको रुपमा छोरी जन्माइन । त्यसपछि ४८ वर्षको उमेरसम्ममा उनले कहिले वर्षेनी त कहिले २ वर्षको अन्तरमा १७ छोराछोरी जन्माईन् । खिर्मीदेवीका ६ छोरा र ६ छोरी गरी १२ सन्तान मात्र जीवित छन् ।
छोराले मात्र स्वर्गको ढोका खोल्छ भन्नेमा विश्वास गर्ने समाज–घरमा उने ५ छोरी जन्मपछि छोरा जन्माउन थालिन् । दुर्भाग्यबस् उनका २ छोरा शीशुअवस्थामै बिते ।
विवाह गरेकी १९ वर्षकी छोरीको समेत मृत्यु भएको पिडा उनले बेहोर्नु पर्यो । उनको १ छोराको विवाह गर्न वाँकी छ । पोषिलो खानपिनको अभावकाबीच धेरै सन्तान जन्माउन बाध्य खिर्मीदेवीको स्वास्थ्यमा उती राम्रो छैन ।
सुत्केरी हुँदा–हुँदा शरीर कमजोर भएको उनलाई थाह छ । परिवार नियोजन सम्बन्धि चेतना नपुग्दा उनले जन्मान्तरको कुरा पनि थाह पाईनन् । ९ वर्षदेखि वैधव्य जीवन बिताईरहेकी खिर्मीदेवी भन्छिन्, “हाम्रो पालामा औषधि खाने चलन पनि थिएन ।”
कमल थापा, रुकुम
