समाचारबुधबार, मंसिर २६, २०७०
नक्कली नोटसहित एक पक्राउ
बैंकमार्फत् नक्कली नोट भारत पठाउन लागेका एक जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । २५ मंसीरमा सनराईज बैंक धरानबाट सक्कल नोटसँगै राखेर नक्कली नोट पठाउन लागेका संखुवासभा चेपुवा–८ का सनम टासी भोटेलाई प्रहरीले पक्रेको हो ।
भारतको खर्साङमा रहेकी श्रीमती फुदा भोटेको नाममा दुई लाख रुपैंया पठाउन लाग्दा उनलाई पक्राउ गरेको धरान प्रहरीले जनाएको छ । बैंक कर्मचारीले रकम जाँच गर्ने क्रममा नक्कली नोट फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर लगत्तै बैंकमा पुगेको प्रहरीले उनलाई पक्रिएका थिए । इलाका प्रहरी कार्यालय धरानले २६ मंसीरमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको छ ।
प्रहरीकाअनुसार उनको साथबाट १ हजारको नोट ५० थान र ५ सयको नोट ४८ थान गरी जम्मा ७४ हजार नक्कली नोट फेला परेको छ ।
उनी नेपाली भाषा नबोल्ने र नजान्ने पाइएको इलाका प्रहरी कार्यालयका डीएसपी सञ्जय सिंह थापाले बताए ।
सोहन श्रेष्ठ, धरान

