समाचारबिहीबार, मंसिर २७, २०७०
पाँच वर्षीय बालिकाको हत्या
स्थानीय ह्वामा गाविस–७ का ओबिराज पुनकी पाँच वर्षीया छोरी ज्योतिमायाँ पुनलाई काकी नाता पर्ने एक महिलाले खाना पकाउने पनिउँले हान्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
गोठनजिकै चारपाँचजना समूहमा साथीहरूसँग खेलिरहेकी बालिकालाई कालिनी पुनले हानेपछि स्वास्थ्यचौकी ह्वामा लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो ।
घटनापछि फरार भएकी ती महिलाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृतक बालिकाका बुबा ओबिराज पुनका अनुसार यसअघि ती महिलासँग कुनै पनि रिसइबी थिएन । सदरमुकामबाट चार घण्टाको पैदल दूरीमा पर्ने घटनास्थलतर्फ प्रहरी टोली गएको बताइएको छ ।
यस्तै रोल्पाको लिबाङ–८ गुरुङगाउँमा भीरबाट लडेर बुधबार एक गर्भवती महिलाको ज्यान गएको छ । घाँस काट्न गएको अवस्थामा गुरुङगाउँको निलरह भन्ने भीरबाट लडेर ३६ वर्षीया हुर्मती केसीको ज्यान गएको हो । केसी सिर्जनशील कृषि महिला सहकारीकी सदस्यसमेत थिइन् ।
केसीका श्रीमान् वैदेशिक रोजगारका लागि कतारमा भएको बताइएको छ । परिवारका अनुसार श्रीमान् घरमा नभएकाले दाहसंस्कार गर्न केही समय लाग्ने बताइएको छ ।रासस
