समाचारबिहीबार, मंसिर २७, २०७०
दुई माओवादीलाई नै संविधानसभामा ल्याइन्छः रावल
एमाले नेता भीम रावलले एमाओवादी र नेकपा–माओवादीलाई संविधानसभा र सरकारमा ल्याउन एमालेले पहल गर्ने बताएका छन् । रफत् संचार क्लब भक्तपुरले २७ मंसीरमा गरेको कार्यक्रममा उनले भने, “एमाओवादी र नेकपा–माओवादीलाई वार्ता तथा छलफलमार्फत् संविधानसभा र सरकारमा ल्याउन एमालेले पहल र प्रयास गर्नेछ ।”
उनले ताजा जनादेशका आधारमा एमाओवादी संविधानसभामा आउनुको विकल्प नभएको जिकिर गरे । उनले भने, “जनादेशको कदर गर्दै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नु सान्दर्भिक हुन्छ ।”
उनले सबै दल मिल्नै पर्नेमा जोड दिए । उनले नयाँ जनादेशअनुसार सबै दलबीच पद बाँडफाँड गरी सरकार निर्माण गर्नुपर्ने बताए ।
“नयाँ जनादेशअनुसार सबै दलबीच पद बाँडफाँड गरी सहमतिकासाथ सरकार र संविधान निर्माणमा अगाडि बढ्नुपर्छ,” उनले भने । उनले सहमति नभए बहुमतीय आधारमा सरकार निर्माण गरिनुपर्ने बताए ।
रासस
