समाचारशुक्रबार, मंसिर २८, २०७०

निर्वाचन धाँधलीमा राष्ट्रपतिकै हात छः महासेठ

हिमालखबर

एमाले नेता रघुवीर महासेठले संविधानसभा निर्वाचनमा धाँधली भएको दावी गरेका छन् । रिपोर्टर्स क्लबले २८ मंसीरमा गरेको कार्यक्रममा उनले निर्वाचनमा धाँधली भएको भन्दै छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने माग गरे ।

उनले आफू उम्मेदवार बनेको धनुषा–५ मा राष्ट्रपति रामबरण यादव र तीन वटै सुरक्षा निकायले प्रत्यक्ष रुपमा धाँधली गरेको आरोप लगाए । उनले आयोग गठन गरेर आशंका समाधान गर्नुपर्ने बताए ।

उनले भने, “मलाई हराउन राष्ट्रपति नै लागे, त्यो बेलाको राष्ट्रपतिको कलडिटेल चेक गरे त्यसको पुष्टी हुन्छ ।” उनले आफ्नो क्षेत्रमा १ हजार ८०० मतपत्र निर्वाचनको अघिल्लो दिन नै लगिएको दावी गरे । “मेरो क्षेत्रमा नै धाँधली भयो भने अरु क्षेत्रमा भएन भन्न सकिने अवस्था छैन,” उनले भने ।

निर्वाचन धाँधलीमा निर्वाचन आयोग पनि संलग्न भएको आरोप लगाउँदै उनले भने, “निर्वाचनको दिन जारी भएको १० बुँदे परिपत्र त्यसकै उदाहरण हो ।” उनले २०४८ सालको निर्वाचनपछि पनि धाँधली भएको भन्ने आशंकाको छानबिन भएको उदाहरण दिँदै उनले अहिले पनि छानविन गर्दा आकास नखस्ने जिकिर गरे ।

संविधानसभाको निर्वाचनमार्फत नयाँ जनादेश आईसकेकोले राष्ट्रपतिको नयाँ निर्वाचनको विकल्प नभएको उनले बताए । उनले राष्ट्रपति परिवर्तन गर्न नहुने अडानबाट कांग्रेस पछि नहटे संविधानसभाबाटै बहुमत पुर्याएर नयाँ निर्वाचन गर्ने चेतावनी दिए ।

उनले भने, “कांग्रेस नमाने एमाओवादी लगायतका दलसँग मिलेर राष्ट्रपतिको निर्वाचन गराउँछौ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>