समाचारशुक्रबार, मंसिर २८, २०७०
एमाओवादी लगायत १८ दलको शर्त, आयोग गठन
एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा २८ मंसीरमा बसेको १८ दलको बैठकले नेपाली काँग्रेस र नेकपा(एमाले) लगायतका दलहरू आयोग गठनका लागि सहमत नभएको भन्दै समानुपातिकतर्फको कुनै पनि सदस्य सिफारिस नगर्ने र सहभागीसमेत नहुने निर्णय गरेको संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
निर्वाचन आयोगले समानुपातिकतर्फको सूची बुझाउन आगामी पुस ३ गतेसम्मको समयसीमा तोकेको छ । बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले उच्चस्तरीय राजनीतिक समितिको बैठकमा भएको छलफलको विषयमा जानकारी गराएका थिए ।
दाहालले उच्चस्तरीय राजनीतिक समितिको बैठक यही ३० मङ्सिरमा बस्ने भएकाले सो बैठकमा काँग्रेस, एमालेलगायतका दलहरू आयोग गठनमा तयार भए सोहीअनुसार अगाडि बढ्ने र त्यसका लागि तयार नभए सङ्घर्षमा जानुको विकल्प नभएको जानकारी गराएको महासचिव श्रेष्ठले बताए ।
उच्चस्तरीय राजनीतिक समितिको म्यादसमेत यही मङ्सिर मसान्तमा सकिने भएकाले त्यसपछि समितिको अस्तित्व नरहे दलहरूकै बीचमा वार्ता र सम्वादलाई जोड दिने र आन्दोलनका कार्यक्रमहरूलाई सशक्त बनाएर लैजाने विषयमा समेत अध्यक्ष दाहालले बताएका थिए ।
बैठकमा एमाओवादी, मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, संघीय समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) लगायत विभिन्न १८ राजनीतिक दलको सहभागिता रहेको थियो ।
