थप समाचारसोमबार, पौष १, २०७०

जाजरकोटमा नुनकै हाहाकार

हिमालखबर

जाजरकोटमा नुनको अभाव भएको छ । आर्थिक वर्षको निर्धारित कोटाको नुन जिल्लामा नपुगेकाले नुनको हाहाकार भएको हो । नुन नपाउँदा उपभोक्ता अलिनु खान बाध्य छन् ।

यो वर्षको निर्धारित कोटा नुन एक हजार ७०० क्विन्टलमध्ये ठेकेदारले ३५० क्विन्टल मात्र ढुवानी गरेको छ । सो नुन सकिएपछि जिल्लामा नुनको अभाव भएको हो ।

नुन नपाउँदा गाउँगाउँबाट नुन लिन सदरमुकाम आएका सर्वसाधारण खाली हात फर्कन बाध्य छन् । नुन ढुवानी नहुँदा समस्या परेको साल्ट टे«डिङका शाखा प्रमुख भरत श्रेष्ठले बताए ।

“नुन छैन, साताको एक दिन एक परिवारलाई तीन पोका दिने गरिएको छ”उनले भने, “अब त्यो पनि सकियो के गर्ने ?” जिल्लामा आयो नुन वितरण हुने एक मात्र सदरमुकामको शाखा कार्यालयमा नुन पाइन छोडेपछि स्थानीय आक्रोशित भएका छन् ।

“अरु सुविधा त टाढाको कुरा हो, अब नुन खान पनि नपाइने भयो” खलङ्गा–३ की लीला रानाले दुखेसो पोखिन । नुनको आपूर्ति हुन नसकेपछि सर्वसाधारणलाई निकै मर्का परेको छ ।

दुई दिन पैदल हिँडेर नुन लिन सदरमुकाम आए पनि एक पोका नुन पाउन नसकेको नायकवाडाका जनक शाहीले गुनासो गरे । शाही मात्र होइन, दैनिक नुन लिन आउने सयौँ सर्वसाधारण नुन नपाएर फर्कन बाध्य छन् ।

सदरमुकाममा मात्र नुन वितरण केन्द्र भएका कारण ग्रामीण क्षेत्रका बासिन्दा नुन लिन सदरमुकाम आउनुपर्ने बाध्यता छ ।

सरकारले आयोडिनयुक्त नुनमा जाजरकोटलगायत विकट पहाडी तथा हिमाली जिल्लामा ढुवानी अनुदान दिँदै आएको छ । आयोडिनयुक्त नुनमा अनुदान दिने भएकाले प्रतिकेजी (एक प्याकेट) १० रुपैयाँमा बिक्री गरिन्छ ।

यो नुन सस्तो पर्ने भएकाले बजारमा ढिके नुनसमेत पाइँदैन । ढुवानीसहित ढिके नुनको मूल्य दोब्बर पर्ने भन्दै व्यापारीले बजारमा नल्याएका कारण नुनको जिल्लामा समस्या परेको व्यापारीहरू बताउँछन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>