थप समाचारसोमबार, पौष १, २०७०
राजधानीका दर्जन उद्योगमा शिलबन्दी
राजधानीको पर्यावरण बिगार्ने गरी संचालन भइरहेका उद्योग, व्यवसाय तथा कलकारखानामाथि अनुगमन तथा कारवाही तीब्र पारेको वातावरण विभागले जनाएको छ । न्यूनत्तम मापदण्डसमेत पूरा नगरी वातावरणलाई प्रत्यक्ष हानी पुर्याउने गरी संचालित उद्योगमाथि विभागले निगरानी तथा कारवाही प्रक्रिया अघि बढाएको हो ।
अनुगमनकै क्रममा वातावरण प्रदुषण तथा मानव स्वास्थ्यमा सोझै हानी पुर्याउने गतिविधि गरी गैरकानुनी ढंगले संचालन भइरहेका वासिङ्ग, डाइङ्ग प्लान्ट तथा कपडा छपाईंलगायतका काम गर्ने एक दर्जन उद्योगमा विभागले शिलबन्दी गरेको छ । विभागका महानिर्देशक डाक्टर युवक ध्वज जि.सी. संयोजकत्वको टोलीले १ पुसमा ललितपूरमा संचालित उद्योगहरूमा शिलबन्दी गरेको हो ।
विभागले जयमातादी वासिङ्ग एवम् एस. के. डाइङ्ग तथा वासिङ्ग, आर. के. डाइङ्ग, इल्लाम खान (समिर)डाइङ्ग, अलिम खान डाइङ्ग, अमिन खान डाइङ्ग, समिन खान डाइङ्ग एन्ड प्रिन्टिङ्ग, बब्लु खान डाइङ्ग एन्ड प्रिन्टिङ्ग र बब्लु खान डाइङ्ग एन्ड प्रिन्टिङ्गमा शिलबन्दी गरेको छ । यस्तै, अब्दुल खान डाइङ्ग, आलम सेख डाइङ्ग एन्ड प्रिन्टिङ्ग, मन्सुर आलम डाइङ्ग, उस्मान खान डाइङ्ग र नसिन खान डाइङ्ग उद्योग पनि विभागले बन्द गराएको छ ।
पटक–पटक सचेत गराउँदा समेत मापदण्डअनुरूप उद्योग संचालन या बन्द गर्न अटेर गरेपछि आक्रमक रणनीति लिनु परेको महानिर्देशक जि.सी.को भनाई छ । “मानव स्वास्थ्यमा सोझै असर पर्ने खालका रसायन प्रयोग गरिएको, त्यसबाट निस्कने रसायनयुक्त फोहोर सिधै नदीमा मिसाइएको पाइएकाले उद्योग शिलबन्दी गरेका हौ,” उनले भने, “वातावरणीय सन्तुलन बिगार्ने तथा मानव स्वास्थ्यमा प्रत्यक्ष हानीनोक्सानी पुर्याउने गरी संचालन भइरहेका अरू पनि उद्योगहरूमाथि निगरानी बढाउँदैछौं ।”
वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली, २०५४ ले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने गरी वा जनजीवन र जनस्वास्थ्यका लागि खतरा हुनसक्ने किसिमले उद्योग वा व्यवसाय संचालन गर्न रोक लगाएको छ ।

