समाचारमंगलबार, साउन ९, २०६९
सत्तापक्ष संक्रमणकाल लम्ब्याउने पक्षमा रहेको पूर्वप्रधानमन्त्री नेपालको धारणा
पुष्पलाल मेमोरियल कलेज, चाबहिलको पाँचौँ स्थापना दिवसका अवसरमा ९ साउनमा आयोजित कार्यक्रममा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका नेता नेपालले मुलुकको सङ्क्रमणकालको फाइदा लिएर अहिले एमाओवादी लोकतान्त्रिक मूल्य र मान्यताविपरीत राज्य संयन्त्रमाथि हैकम जमाउने प्रयासमा भएको दाबी गरे ।
पूर्वप्रधानमन्त्री नेपालले भने, “चार वर्षको कार्यकाल पूरा हुँदासमेत संविधान दिन नसकेर संविधानसभाको विघटन गर्दै मुलुकमा सङ्क्रमणकाल लम्ब्याउने प्रयासमा सत्तापक्ष सक्रिय छ, यो कदापि राम्रो होइन ।” उनले प्रधानमन्त्रीले अन्य दलसँग विनापरामर्श एकतर्फीरुपमा ७ मङ्सिरका लागि प्रधानमन्त्रीले घोषणा गरेको निर्वाचन असम्भव भएको उल्लेख गरे ।
कार्यक्रममा नेता नेपालले भने, “संविधानसभाको निर्वाचन गर्नु कसैको बाध्यता हो भने त्यो बाध्यताको सिकार अन्य राजनीतिक दल हुने छैनन्, त्यसैले सहमतिका साथ अगाडि बढ्न तयार हुनुपर्छ ।” रासस
