समाचारसोमबार, पौष १, २०७०
बम मैले पड्काएको हुँ: वैद्य
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभा निर्वाचन बिथोल्न देशका विभिन्न ठाउँमा भएको बम बिष्फोटका घटनाको जिम्मा आफूले लिने बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न राजधानीमा १ पुसमा आयोजित पत्रकार सम्मेलनमा वैद्यले बम बिष्फोटको जिम्मा आफूले लिने बताएका हुन् ।
उनले भने, “चुनाव बिथोल्न विभिन्न ठाउँमा भएका बम बिष्फोटको जिम्मा हाम्रो पार्टीले लिन्छ ।” यसअघि भने नेकपा–माओवादीले विभिन्न ठाउँमा भएका बिष्फोटमा पार्टीको हात नरहेको भन्दै आएको थियो ।
२८ कात्तिकमा कलैयाबाट यात्रु लिएर काठमाडौं आउँदै गरेको ना ४ ख ९८३६ नम्बरको यात्रुबाहक बसमा नेकपा–माओवादीले पेट्रोल बम प्रहार गर्दा घाइते १३ जनामध्ये बारा कलैयाका रमेश यादवको ११ मंसीरमा उपचारको क्रममा मृत्यु भएको थियो । यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत नीजगढ–पथलैया सडकखण्डको दुधौरा पुल नजिकै गुडिरहेको ट्रकमा नेकपा–माओवादी कार्यकर्ताले पेट्रोल बम प्रहार गर्दा घाइते बारा नीजगढ–७ का ट्रक चालक राजकुमार देउजा क्षेत्रीको उपचारको क्रममा २ मंसीर बिहान मृत्यु भएको थियो ।
नेकपा–माओवादी कार्यकर्ताले नै ४ मंसीरमा काठमाडौं, भोटबहालमा गरेको बम बिष्फोटमा परी ८ वर्षीय समिर खड्गीको दाहिने हातको हत्केला नै गुमेको थियो ।
वैद्यले बम प्रहार गर्दा घाइते भएका बालकहरूको तस्वीर हेर्न यहाँ क्लिक गर्नुहोस् ।
‘वैद्यलाई सोधिदेउ- मेरो छोरा मारेर के पाए ?’
‘विस्तृत शान्ति सम्झौतको औचित्य सकियो‘
नेकपा–माओवादीले १२ बुदे समझदारी र विस्तृत शान्ति सम्झौताको औचित्य समाप्त भएको दावी गरेको छ । पत्रकार सम्मेलनमा वैद्यले २०६२ सालमा भएको १२ बुदे समझदारी र २०६३ सालमा सम्पन्न विस्तृत शान्ति सम्झौता खारेज बताए ।
तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन ठ मंसीर २०६२ मा भारतको दिल्लीमा १२ बुदे समझदारी भएको थियो । १० वर्ष लामो सशस्त्र युद्ध अन्त्य गर्दै ५ मंसीर २०६३ मा सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको थियो ।
उनले भने, अब नया शिराबाट सहमति खोजिनु पर्छ ।” उनले मुलूक २०४७ सालको अवस्थामा नै फर्किएको भन्दै जनविद्रोहको तयारीमा जुट्ने दाबी गरे ।
