थप समाचारमंगलबार, पौष २, २०७०
संविधानभन्दा पुलको चिन्ता
निर्वाचन सम्पन्न भए पनि व्यवस्थापिका संसद साथै नयाँ सरकारको गठन अझै भइसकेको छैन । यता जाजरकोटबासीलाई भने पुल के गरी छिटो बन्ला भन्ने चिन्ताले सताइरहेको छ । “हामीलाई यतिबेला संविधान भन्दा पनि भेरीमा पुल बन्नु महत्वपूर्ण छ,” खलंगा–२ का शेरबहादुर केसीले भने, “सरकारले पुल बनाइदिए धेरै पुग्ने थियो ।”
२०६० सालमा निर्माण शुरु भएको भेरी नदीको पुल अहिलेसम्म बन्न सकेको छैन । छिन्चु– जाजरकोट सडक खण्ड अन्तर्गत सल्यानको सल्ली बजार र सुर्खेतको राकम जोड्ने पुल निमार्णका लागि ल्याएका सामग्रीहरु भेरी नदीकिनारमा बेवारिसे अवस्थामा छन् ।
अहिले सम्म चार वटा पिलर निर्माण भएका छन् । गत बर्ष नै निर्माण सम्पन्न हुनुपर्ने पुल निर्माणका क्रममा चट्टान भेटिएको भन्दै काम रोकिएको छ ।
पुल नबन्दा निर्माण र खाद्यान्न सामग्रीहरू वारपार गराउनका लागिसमेत स्थानीयहरूले महँगो रकम तिर्नु परेको छ । सल्यान, जाजरकोट, रुकुमलगायतका ठाउँमा जानका लागि हिँड्ने सर्वसाधारण गाडी चढ्न पाउँदैनन् । पुल नबनेकै कारण सुर्खेतबाट गएका गाडी सल्ली र रुकुम, जाजरकोटबाट आएका गाडी जामुने बजारमै रोकिन्छन् ।
पटक पटक ताकेता गर्दा पनि ठेकेदारले टेरपुच्छर नलगाएको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख भानु जोसीले बताउँछन् । पुल निर्माणको जिम्मा स्वच्छन्द, काष्ठमण्डप, धनथान, प्रदीप र रवीन निर्माण सेवा जेभी काठमाडौँका प्रोप्राइटर जयराम लामिछानेले लिएका छन् ।
पुलको विकल्पको रुपमा प्रयोग हुदै आएको फेरीको पिलर भाँचिएपछि आवागमन बन्द प्राय छ । जिल्लाको समग्र विकासको मुख्य आधार मानिएको भेरी नदीको पुल अलपत्र बनेपछि जाजरकोटवासीले नवनिर्वाचित सभासद्लाई दबाब दिन थालेका छन् । यही पुल निर्माणमा जोड दिने भन्दै चुनावमा उम्मेदवारहरुले भोट माग्न चुनावी एजेण्डा बनाएका थिए ।
लक्ष्मण केसी, रुकुम

