समाचारमंगलबार, पौष २, २०७०
उपत्यकाबाटै धेरै बालबालिका हराउँछन्
बढी जनघनत्व तथा नेपालकै ठूला शहर भएकाले शहर पस्ने रहर बोकेका बालबालिका काठमाडौं उपत्यकाबाट हराउने गरेका छन् ।
बालबालिका खोजतलास समन्वय केन्द्रको आव २०६९–७० को प्रतिवेदनअनुसार मध्यमाञ्चल विकास क्षेत्रमा ७३ प्रतिशत बालबालिका हराउने गरेकामा उपत्यकाकै ठूला शहर मानिने काठमाडौँ, ललितपुर, भक्तपुर क्षेत्रमा मात्रै ५५ प्रतिशत बालबालिका हराउने गरेका छन् भने बाँकी चार क्षेत्रमा २७ प्रतिशत बालबालिका हराउने गरेका छन् ।
यसरी हराएका बालबालिका चोरी, बलात्कार, हत्या तथा आपराधिक क्रियाकलापमा संलग्न भएको अनुसन्धामा पाइएको छ । बालबालिका खोजतलास समन्वय केन्द्रका अनुसार बालबालिकाका आकाङ्क्षा बढी हुनु तर आर्थिक अभावका कारणले गर्दा ती आकाङ्क्षा पूरा नहुनुले कामको खोजीमा बालबालिका हराउने गरेका हुन् ।
यसरी हराउने बालबालिकामध्ये ११ वर्षदेखि १६ वर्ष उमेर समूहका बालबालिका बढी देखिएका छन् । यस उमेरमा बालबालिकाको भावनासँग आमाबाबुले ख्याल राख्न र बालबालिकालाई आवश्यक माया, ममता दिनसकेमा बालबालिकाले घर छोड्ने समस्या कम हुने बालबालिका खोजतलास समन्वय केन्द्रका कार्यक्रम अधिकृत भीमविक्रम शाही बताउँछन् ।
परिवार, समाज र राज्यको सुरक्षा र संरक्षणमा हुर्कन पाउनु प्रत्येक बालबालिकाको मौलिक अधिकार हो । तर पनि बालबालिकाको अधिकार प्रत्याभूति बनाउने सरकार तथा बालबालिकाको केन्द्रीय निकायभएको सहरबाट नै सबैभन्दा ठूलो सङ्ख्यामा बालबालिका हराउनाले कानुनको फितलोपनलाई दर्शाएको छ ।
बालबालिकाको अधिकारसम्बन्धी काम गर्ने निकायको व्यस्तता तथा कानुनको फितलोपनाले गर्दा उपत्यकाबाट सबैभन्दा बढी मात्रामा बालबालिका हराउने गरेको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिप खड्गबहादुर राणा बताउँछन् ।
रासस
