समाचारमंगलबार, पौष २, २०७०
समाधान संविधानसभाभित्रै: कांग्रेस बैठक
सभापति सुशील कोइराला निवास महाराजगञ्जमा २ पुसमा बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको अनौपचारिक बैठकले संविधानसभाभित्रैबाटै सबै खालका समस्याको निकास खोज्ने निर्णय गरेको छ । पार्टीले उठाएका विषयहरुको समाधान खोज्न पनि संविधानसभालाई चाँडै क्रियाशिल बनाउने पर्ने कांग्रेसको ठहर छ ।
निर्वाचनबाट प्राप्त जनादेशलाई ध्यानमा राखेर सबै समस्याको समाधान पनि जननिर्वाचित निकायबाटै खोज्नुपर्ने निर्णय भएको कांग्रेस प्रवक्ता दिलेन्द्र बडुले जानकारी दिए ।
एमाओवादीले निर्वाचनमा धाँधली भएको दाबी गर्दै छानविन आयोगको गठन गर्न माग गरिरहेको बारेमा तथा नेकपा–माओवादीलाई संविधान निर्माणमा सहभागी गराउने लगायतका विषयहरुमा संविधानसभाभित्रै छलफल गर्नुपर्ने बैठकले निर्णय गरेको हो ।
“संविधान निर्माण हाम्रो मूल कार्य हो, संविधानसभालाई क्रियाशील गर्ने कुरालाई प्राथमिकतामा राखेर अन्य पार्टीहरुले जे विषयहरु उठाउँछन् ती विषयलाई समेत संविधानसभाभित्र बसेर निक्र्यौलमा पुग्न सकिन्छ र संविधानसभाभित्रबाटै सबै विषयको समाधान खोज्नुपर्छ,” वैठकपछि प्रवक्ता दिलेन्द्र बडूले भने ।
उनले निर्वाचनको जनादेशले दिएको नेतृत्वदायी भूमिकालाई ध्यानमा राखी सबैलाई मिलाएर लाने र संविधान लेखन एवम् सरकार गठनको विषयमा अघि बढ्नुपर्ने धारणा बैठकमा आएको बताए ।
पछिल्लो राजनीतिक अवस्था तथा भावी रणनीतिलगायतका विषयमा औपचारिक छलफल गर्न कांग्रेसले ३ पुस बिहान ११ बजे केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । त्यस्तै समानुपातिकतर्फ पार्टीले बुझाउने नामावलीबारे पनि कार्यसमितिले मापदण्ड तयार गरी त्यसका आधारमा निर्णयमा पुग्ने बडुले जानकारी दिए ।
उनले समानुपातिकतर्फको नामावली निर्वाचन आयोगमा बुझाउन कांग्रेसको कारण ढिलो नभएको दाबी गर्दै कांग्रेस ठूलो पार्टी भएकोले सबै दलहरु एकसाथ आयोगमा जानुपर्छ भन्ने प्रयत्नमा रहेको समेत बताएका थिए ।
