थप समाचारमंगलबार, पौष २, २०७०
क्याम्पस प्रमुखलाई कालोमोसो दल्ने तीन प्राध्यापक हिरासतमा
धनकुटा बहुमुखी क्याम्पस धनकुटाका क्याम्पस प्रमुख डा. गोपालबहादुर भट्टराईलाई कोलोमोसो दलेर कुटपीट तथा दव्र्यवहार गरेको भन्दै सोही क्याम्पसका ३ जना प्राध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनकुटा बहुमुखी क्याम्पसका प्राध्यापक नन्द न्यौपाने, शम्भु खतिवडा र किरण घिमिरेलाई २ पुसमा पक्राउ गरेको हो ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत क्याम्पस प्रमुखहरुको बुटवलमा हुने भेलामा सार्वजनिक यातायात चढेर धनकुटाबाट बुटवलतर्फ जाने क्रममा धनकुटा नपा–३ बाख्रेखोला नजिक गाडी रोकेर क्याम्पस प्रमुख भट्टराईलाई २ पुसमा उनीहरुले कालोमोसो दल्दै कुटपीट गरेको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।
क्याम्पस प्रमुख भट्टाराईमाथि दुव्र्यवहार भएपछि उनकी श्रीमती हिमादेवी बस्नेत भट्टाराईले तीन जना प्राध्यापकहरुमाथि कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । सोही किटानी जाहेरीको आधारमा घटनाका आरोपीहरुलाई धनकुटा बजारबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
एक वर्षदेखि क्याम्पस प्रमुखको कार्यशैलीप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिएका प्रगतिशील समुहका प्राध्यापकहरु २६ मंसीरमा क्याम्पस प्रमुखले थप १३ जना आंशिक शिक्षक नियुक्ति गरेपछि आक्रोशित बनेका थिए ।
सन्तोष रुचाल, धनकुटा
