थप समाचारमंगलबार, पौष २, २०७०
महिलालाई गाउँ निकाला गर्ने पञ्चायती भेलाको फैसला
मोरङ कटहरी–६ की पारोदेवी पासवानलाई स्थानीयबासिन्दाले गाउँ निकाला गर्ने घोषणा गरेका छन् । चरित्रहीन भएको आरोप लगाउँदै ती महिलालाई गाउँमा आयोजित पञ्चायती भेलाले २ पुसमा यस्तो फैसला सुनाएको हो । समाज बहिस्कार गरेर गाउँबाटै निकाल्ने योजनाकासाथ डाकिएको भेलामा पारोदेवीलाई पुरुषहरुले कुटपिट समेत गरेका छन् ।
घटना सार्वजनिक भएपछि महिला अधिकारकर्मीको पहलमा कुटपिट गर्ने तीन जना पक्राउ परेका छन् । गाउँका अगुवा एवम् राजनीतिक कार्यकर्ता बल्ली दास, पारोदेवीकी आमा कारीदेवी र स्थानीय अशोक सहनीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
श्रीमान समेली सहनीको यातना सहन नसकेर पारपाचुकेका लागि अदालतमा मुद्दा हालेकी पारोदेवीलाई गाउँलेले परिवारमा मिलेर बस्न दबाब दिदै आएका थिए । गाउँलेको करकापमा नपरेकी उनलाई भेलाबाटै गाउँ निकाला गर्न पञ्चायतीमा डाकिएको थियो । भेलामा ल्याएर बिजय दास, मुसहरु सहनीलगायत ५ जनाले कुटपिट गरेको पीडितले बताइन् ।
घटनापछि विराटनगरस्थित हाटखोला प्रहरी चौकीमा आएका बल्ली दासले पारोदेवीलाई गाउँ निकाला गर्न कागज गर्ने तयारी समेत भएको बताएका थिए । गाउँलेले पारोदेवी र उनका श्रीमानका विषयमा नेपाली कागजमा कानुन बमोजिम कारवाही गर्ने निर्णय भएको उल्लेख गरेको छ । सो कागज प्रहरीले नियन्त्रणमा लिएको छ । पीडितलाई परामर्श र कानुनी सहायताका लागि एबीसी नेपाल मोरङमा राखिएको छ ।
घटनालाई नजिकबाट बुझेका अधिवक्ता कमल लामाले महिलालाई गाउँ निकाला भन्दै कुटपिट गर्नेहरुलाई सार्वजनिक अपराध ऐन बमोजिम कारवाही हुने कानुनी प्रावधान रहेको बताए । पारोदेवी बिरुद्ध बयान दिन प्रहरी कार्यालयमा भेला भएका गाउँका अगुवाहरुले पीडितलाई बोल्न नदिई रहेका बेला आएका अधिकारकर्मीले कानुनी कुरा गर्न थालेपछि पीडकहरु मिलाई दिन आग्रह गर्न थालेका थिए ।
कमल रिमाल, विराटनगर

