समाचारबुधबार, पौष ३, २०७०
जातीय र धार्मीक सहिष्णुताको नमूना
राजनीतिक दलहरुबीच जातजाति र धर्मका विषयमा विवाद भइरहेको अवस्थामा सल्लेरी– ७ सोलुखुम्बुमा बुद्ध र हिन्दू धर्मावलम्बीहरु मिलेर बौद्ध माने बनाएका छन् ।
सल्लेरी– ७ छुल्यामुस्थित सडकमा रहेको पुरानो माने बौद्ध भत्किएर जीर्ण भएकाले सोही स्थानमा आकर्षक बौद्ध माने बनाइएको हो । नेवार, शेर्पा, क्षेत्री, मगरलगायतको बसोबास रहेको सो क्षेत्रमा सबै जातजातिको सक्रियता र सहयोगमा माने निर्माण गरिएको हो । एक महिना अघिबाट निर्माण शुरु गरिएको मानेको २ पुसमा उद्घाटन (राप्ने) गरिएको हो ।
सो अवसरमा धर्मगुरु लामा आङबाबु लामाले देशमा विभिन्न धर्म र जातिबीच मनमुटावको अवस्था देखिरहेको समयमा यहाँका बासिन्दाले एक भएर गरेको प्रयास सह्रानीय भएको बताए ।
“अहिले विभिन्न दलले जातीय राज्य तथा धर्मका कुरा गरेर हामीलाई फुटाउन खोजेको भए पनि हाम्रो देशमा धार्मिक सहिष्णुता छ भन्ने कुराको बलियो प्रमाण यहाँ देखिएको छ,” लामाले भने । राप्ने कार्यक्रममा विभिन्न जाति र धर्मका मानिसले शेर्पा परम्पराअनुसार पूजाआजा गरेका थिए ।
माने निर्माण समितिका सचिव राजकुमार खत्री भन्छन्, “हामी एक अर्काको धर्मको विरोध होइन मिलेर सबैको संरक्षण गर्नुपर्छ भन्ने कुरामा विश्वास गछार्,ैं सोही कारण हामी हिन्दू भए पनि बुद्धधर्मको संस्कृति माने बनाउन पहल गरेका हौँ” ।
त्यस्तै समितिका कोषाध्यक्ष रामकुमार श्रेष्ठ भन्छन्, “हामीले लडेर हैन एकले अर्कालाई सम्मान गरेर मात्र असल समाज निर्माण गर्न सक्ने भएकाले यस कार्यमा खटेका हौँ” । “बुद्ध धर्मावलम्वीको आस्थाको केन्द्र भए पनि हामी सबै धर्मका मानिस जुटेर यो काम गरेका हौँ, समितिका अध्यक्ष ल्हाक्पा गेल्जे शेर्पाले भने ।
माने बनाउन रु एक लाख ५६ हजार ७०० खर्च भएको थियो ।
रासस
