समाचारबिहीबार, पौष ४, २०७०

चिनियाँ उपमन्त्रीको नेताहरुसँग भेटवार्ता

हिमालखबर

१४ पुसमा नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँगको भेटमा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका सदस्य एवम् एशिया तथा प्रशान्त क्षेत्र मामिलासम्बन्धी उपमन्त्री आई पिंगले सबै शक्ति मिलेर संविधान निर्माण प्रक्रियामा सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।

कोइराला निवास महाराजगन्जमा भएको भेटवार्तामा सभापति कोइरालाले नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको पालादेखि आरम्भ भएको चीन र चिनियाँ कम्युनिस्ट पार्टीसँगको नेपाल र नेपाली काँग्रेसको सुमधुर सम्बन्ध आउँदा दिनमा अझ सुदृढ भएर जाने विश्वास व्यक्त गरे ।

“वार्ता दुई पार्टी तथा देशबीचको सम्बन्ध, आपसी सहयोग, विकास र शान्ति प्रक्रियाका बारेमा केन्द्रित रह्यो, उहाँहरुले संविधान निर्माणका विषयमा गहिरो चासो लिनुभयो”, वार्तामा सहभागी कांग्रेस परराष्ट्र विभाग प्रमुख सुजाता कोइरालाले भनिन् ।

“नेपालमा दोस्रो संविधानसभाको निर्वाचन भएको छ, यो महत्वपूर्ण राजनीतिक घटना हो, यस्तै चीनमा पनि चिनियाँ कम्युनिस्ट पार्टीको १८ औँ केन्द्रीय समितिको तेस्रो प्लेनम र छिमेकी मुलुकहरुसँग चीनको सम्बन्धका बारेमा महत्वपूर्ण सम्मेलन भएका छन्, यिनै विषयका सम्बन्धमा जानकारी आदानप्रदान भयो” भेटवार्तापछि चिनियाँ उपमन्त्री पिङले भने ।

एमाले नेताहरुसँग पनि भेट

कोइराला सहितका नेताहरुसँग भेट गरेलगत्तै चिनियाँ टोलीले एमाले अध्यक्ष झलनाथ खनाल सहितका नेताहरुसँग एमाले मुख्यालय बल्खु पुगी भेट गरेको छ ।

भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण र द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।

यसअघि ३ पुसमा पिंगले नेकपा–माओवादी र एमाओवादीका नेताहरुसँग बेग्लाबेग्लै भेट गरेका थिए ।

नेकपा–माओवादीसँगको भेटमा पिंगले अन्य राजनीतिक शक्तिसंग मिलेर छिटो संविधान जारी गर्ने दिशामा अघि बढ्न सुझाव दिएका थिए ।

नेकपा(माओवादीका नेता सीपी गजुरेलले भने, सबै मिलेर संविधान निर्माण गर्नस्, राजनीतिक निकास दिनुस् र जिम्मेवार पार्टी भएकाले तपाईहरुको पनि भूमिका हुन्छ भन्ने कुरा उहांको (आइ पिंग) थियो।

पछिल्लो एक महिनामा उत्तरी छिमेकी चीनबाट भएको यो तेस्रो उच्चस्तरीय भ्रमण हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>