समाचारशुक्रबार, पौष ५, २०७०
पोखरापछि पाल्पा– जमिन भासियो
पोखराको अर्मलेमा जमिन भासिएर स्थानीय बासिन्दा विस्थापित भइरहेका बेला पाल्पाको बन्दी पोखरामा पनि जमिन भासिन थालेको छ । जमिन भासिन थालेपछि अहिले ८ घर जोखिममा परेका छन् ।
विभिन्न ठाउँमा जमिन भासिएर दुई मिटरसम्म गहिरो खाल्डो बनेको छ भने घर नजिकैका खेतका गह्रामा चिरा चिरा परेको छ ।
स्थानीय सीताराम घिमिरे र राधेश्याम घिमिरेको सबै खेत र बारीमा ‘अनौठो’ तरिकाले जमिन भासिएको हो । अर्का विरबहादुर भाटकोसमेत केही खेत भासिएको छ ।
जमिन भासिदा यादव घिमिरे, केशव भाट, माधव घिमिरे, हरिबहादुर भाट, यमबहादुर, गोपाल, टोपबहादुर, हर्कबहादुर ठडराइको घरसमेत जोखिममा परेका छन् ।
जमिन भासिने क्रम असारदेखि शुरु भएको हो । झण्डै दुई मिटर लम्बाइ र सय मिटर चौडाई क्षेत्रफलमा जमिन ‘अनौठो’ तरिकाले भासिएको स्थानीय कृण्ण कार्कीले जानकारी दिए ।
खेत र बारीको ५० बढी स्थानमा जमिन भासिएको छ । जामिन भासिएपछि जिल्ला भूःसंरक्षण कार्यालयका प्राविधिकले समेत उक्त स्थानको निरीक्षण गरेका छन् ।
प्राविधिक दिनेश भट्टराईले भूःगर्भविद्हरु आएर अध्ययन नगर्दासम्म भासिनुको कारण थाहा नलाग्ने बताएका छन् ।
देब पचभैया, पाल्पा

