समाचारशुक्रबार, पौष ५, २०७०
दिल्लीमा केजरीवालले सरकार बनाउने
आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले भारतीय अखबार इकोनमिक टाइम्सलाई दिएको अन्तर्वार्तामा जनताले दिल्लीमा आम आदमी पार्टीको सरकार बनोस भन्ने चाहेको बताएका छन् । उनले सरकार गठनबाट आफ्नो पार्टीलाई लोकसभा निर्वाचनमा पनि फाइदा हुने दाबी गरेका छन् ।
उनले दिल्लीमा सरकार गठन भएपछि आफूले निर्वाचनअघि गरेका वाचा पूरा गर्ने र त्यसले आगामी निर्वाचनमा फाइदा हुने दाबी गरे । यद्दपी उनले यसबारेमा अन्तिम फैसला केही दिनमै बस्ने पार्टीको बोर्ड बैठकले निर्णय गर्ने बताए ।
८ पुससम्ममा सरकार गठनको अन्तिम फैसला गरिने आकलन गरिएको छ ।
दिल्ली विधानसभा निर्वाचनमा ७० मध्ये २८ स्थानमा जित हासिल गरेर आम आदमी दोस्रो ठूलो पार्टी भएको छ भने ३१ सिट जितेर पहिलो पार्टी भएको भाजपाले स्पष्ट बहुमत नहुँदा सरकार गठन नगर्ने जनाइसकेको छ ।
स्पष्ट बहुमत नहुँदा कांग्रेसको समर्थन लिएर सरकार बनाउने कि नबनाउने भन्ने बारेमा आम आदमी पार्टीले जनमत संकलन शुरु गरेको छ । केजरीवालका अनुसार दिल्लीका ७५ प्रतिशतभन्दा बढी जनताले आम आदमी पार्टीले सरकार बनाओस भन्ने चाहेको बताए ।
आम आदमी पार्टीले सरकार गठनका लागि समेत जनतासँग सोध्न थालेको यो अभूतपूर्व घटना मानिएको छ ।
जनमत संकलका लागि पार्टीले ७० विधानसभा क्षेत्रहरुमा जनसभा गर्ने, २५ लाख पर्चा वितरण गरी अभिमत संकलन गर्ने, फेसबुक, ट्वीटर र एसएमएसको पनि मद्दत लिने पार्टीले जनाएको छ ।
७ पुससम्ममा जनमत संकलनको काम सकिएपछि ८ पुसमा बोर्ड बैठक बसेर केजरीवालले सरकार गठनका बारे अन्तिम निर्णय गर्नेछन् ।
