समाचारशुक्रबार, पौष ५, २०७०
नामावली छिटै बुझाउँछौं: सापकोटा
रिपोर्टर्स क्लब नेपालले ५ मंसीरमा आयोजना गरेको साक्षात्कारमा एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले आफूहरु संविधानसभामा जाने प्रष्ट पार्दै त्यसकै लागि समानुपातितर्फको नामावली बुझाउने म्याद बढाउन आग्रह गरेको बताएका छन् ।
सापकोटाले पार्टीभित्र समानुपातिक तर्फबाट नामावली छनौटमा कुनै विवाद नभएको भन्दै दलहरुवीच सहमति हुनासाथ निर्वाचन आयोगलाई समानुपातिकतर्फका सदस्यहरुको नाम बुझाउने जानकारी दिए ।
यद्दपी सापकोटाले निर्वाचनमा प्रक्रियागत धाँधली भएको आरोप दोहोर्याउँदै छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्नु पर्ने, सहमतिमा संविधान निर्माण गर्न संविधान संसोधन गर्नु पर्ने, उच्चस्तरीय राजनीतिक समितिलाई निरन्तरता दिनु पर्ने, मेलमिलाप गर्ने गरी सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्नु पर्नेमा जोड दिएका थिए ।
उनले सरकारमा भने एमाओवादी सहभागी नहुने प्रष्ट पारे ।
‘सहमतिको बाध्यकारी व्यवस्था अस्वीकार्य’
साक्षात्कारमा नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले एमाओवादीले भने जस्तो संविधान निर्माणमा सहमतिको बाध्यकारी ब्यवस्था हुने गरी संविधान संसोधन कांग्रेसलाई अस्विकार्य भएको स्पष्ट पार्दै संविधानसभाभित्रै छानविन समिति गठन गर्नेमा कांग्रेस तयार रहेको जानकारी दिए ।
उनले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न नेकपा– माओवादीको भावनासमेतलाई संविधानसभा प्रतिनिधित्व गराउन तयार रहेको पनि बताए ।
‘विवाद समाधान सभाबाटै’
नेकपा एमालेका नेता गोकर्ण विष्टले सबै विवादको समाधान संविधानसभाबाटै खोज्नु पर्ने भन्दै राजनीतिक समितिको नाममा छलफललाई निरन्तरता दिएर दलहरुले फेरि संविधानसभालाई असफल बनाउने षडयन्त्र गरेको आरोप लगाए ।
विष्टले भने, “समितिमा छलफल गर्ने अभ्यास संविधानसभालाई असफल बनाउने अभ्यास हो । संविधानसभा बाहिर रहेर सहमति खोज्ने प्रयासले यो संविधानसभाको हालत पनि विघठित संविधानसभा जस्तै हुन सक्छ ।”
‘एमाओवादीको पुच्छर नबन्ने’
सदभावना पार्टीका उपाध्यक्ष सञ्जय साहले मधेशी दलहरु संविधानसभालाई अवसरको रुपमा अन्तिम सम्म उपयोग गर्न तयार रहेको भन्दै एमाओवादीको पुच्छर बनेर संविधानसभा बाहिस्कार नगर्ने बताए ।
उनले निर्वाचनमा धाँधली भएको दाबी गर्दै अहिले छानविन गरेर अर्को चुनावमा यस्तो नदोहोरियोस भन्नका लागि मात्रै एमाओवादीसँग सहकार्य गरेको र यो सँधै कायम नहुने स्पष्ट पारेका थिए ।
