समाचारशुक्रबार, पौष ५, २०७०
तीन करोडको वन फाँडेको अभियोगमा अख्तियारद्वारा मुद्दा दायर
बारा जिल्लाका सात वटा सामुदायिक वन फडानी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले सामुदायिक बन समितिका सात–सात जना अध्यक्ष र सचिवसहित जिल्ला बन कार्यालय बाराका कर्मचारीविरुद्ध ५ पुसमा मुद्दा दायर गरेको हो ।
उनीहरुले सामुदायिक बनमा साल, सिसौ, खयर लगायतका रुखको छपना, कटान, मुछान, ओसारपसार र बिक्री बितरण गरी ३ करोड ४२ लाख ८० हजार ५२२ रुपैंया बराबरको भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले जिल्ला वन कार्यालय बाराका तत्कालीन जिल्ला वन अधिकृत मोहन कोइराला, सहायक वन अधिकृतहरु श्याम कुमार निराला, बिन्दा प्रसाद पटेल, रामाश्रय यादव, अशोक कुमार सिंह, अशोक कुमार झा, प्रकाश कुमार वर्मा, मोहमद समिउल्लाह, राम मनोहर साह र रेन्जरहरु धर्मराज चौधरी, संजयकुमार चौरसियाविरुद्ध मुद्दा दायर गरेको छ ।
यस्तै, सामुदायिक वनका अध्यक्षहरु सूर्य बहादुर वाइवा, मिनराज रिमाल, सितामाया वाइवा, बिष्णु बहादुर घलान, मोहनबहादुर खड्का, मिना लामा र अमिरलाल चौधरी तथा सामुदायिक वनका सचिवहरु बुद्धि कुमार तामाङ्ग, लाल बहादुर कार्की, बिष्णुमाया थिङ्ग, रोशन पाख्रिन, रोवन लोप्चन, मिरा पोखरेल र राज कुमार थापा विरुद्ध पनि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
