समाचारशनिबार, पौष ६, २०७०
कांग्रेस बैठकः एमालेसँग गठबन्धन गर्न जोड
तीन दिनदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश सदस्यहरुले एक वर्षभित्र संविधान जारी गर्नका लागि धेरै मुद्दामा समान धारणा भएको एमालेसँग मिलेरै अघि बढ्नु पर्ने अडान राखेका छन् ।
संविधानसभा निर्वाचनको परिणाम आइसकेपछि २२ मंसीरमा बसेको कांग्रेस र एमालेको बैठकले दुवै दल आपसी समझदारीका साथ सहकार्य गर्दै अघि बढ्ने र अन्य दलहरुसँग सहमतिका लागि वार्ता संवाद प्रारम्भ गर्ने तीनबुँदे सहमति गरेको थियो ।
तर पछिल्लो समयमा कांग्रेस सभापति सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग सहमति गरी उच्चस्तरीय समितिलाई निरन्तरता दिने, समानुपातिकतर्फको सूची बुझाउने म्याद थप्ने र सत्ता गठबन्धनका लागि समेत सहमति गरेर एमालेलाई किनारा लगाउन खोजेको आरोप लाग्दै आएको छ ।
यद्दपी जारी केन्द्रीय समिति बैठकमै सभापति कोइरालाले आफूले दाहालसँग छलफल गरेपनि कुनै सहमति नगरेको र एमालेलाई पञ्छाएर अघि बढ्ने कुनै मनसाय नभएको स्पष्ट पारेका थिए ।
कांग्रेसका केही केन्द्रीय सदस्यले भने आफ्नो मुख्य प्रतिस्पर्धी एमाले भएको र राष्ट्रपतिको निर्वाचन गर्नुपर्छ भनेर बखेडा गरेको भन्दै एमालेसँग नभई एमाओवादीसँग गठबन्धन गर्नुपर्ने धारणा राखेका थिए ।
यद्दपी अधिकांश सदस्यहरुले राष्ट्रपतिको निर्वाचनको माग एमालेको सत्ता बार्गेनिङ मात्रै भएको भन्दै त्यसकै आधारमा सम्बन्ध तोड्न नसकिने बताएका छन् । एमालेलाई किनारा लगाउन खोज्दा संविधान निर्माणमा बाधा पुग्ने उनीहरुको भनाई छ ।
कांग्रेस नेता गगन थापाले संयमित भएर एमालेसँग मिल्नु पर्ने ठाउँमा मिल्ने र प्रतिस्पर्धा गर्नुपर्ने ठाउँमा प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखेका थिए । “राष्ट्रपतिका बारेमा आएको एमाले नेताहरुको अभिव्यक्तिकै कारण गठबन्धन गर्न नहुने भन्ने होइन, सहकार्य गर्नुपर्छ,” थापाले भने ।
केन्द्रीय सदस्यहरु रामशरण महत, गगन थापा, धनराज गुरुङ, बालकृष्ण खाँड, एनपी साउद, मिना पाण्डे, नारायण खड्का लगायतले धेरै मुद्दामा समान विचार भएको एमालेलाई छोडेर एमाओवादीसँग गठबन्धन गर्नु गलत हुने जोडदार अडान राखेका छन् ।
एमालेले भने कांग्रेससँग सहकार्य र प्रतिस्पर्धाको नीति लिने निर्णय गरिसकेको छ ।
