समाचारशनिबार, पौष ६, २०७०

नेपथ्यले बढायो धडकन्

हिमालखबर

तनहुँको कुइनेटोमा परेको यो ग्रामिण बजार आँबु खैरेनीमा ६ पुसमा भने बेग्लै उमंग आयो । नेपथ्यको संगीतले ६ पुसमा खैरेनी गुञ्जायमान भयो । चर्चित गायक अमृत गुरुङ नेतृत्वको नेपथ्य व्याण्डले पहाडको फेंदमा रहेको चिसो बजारको माहोल न्यानो बनाइदियो र झुमे खैरेनीबासीहरु ‘छेक्यो छेक्यो देउराली डाँडा…’ मा । संयोग पनि कस्तो भने यसै बेला खैरेनीमा डम्म हुस्सु लागेको छ ।

स्थानीय मनकामना चलचित्र मन्दिरको स्टेजमा उत्रिएको नेपथ्यको प्रस्तुतीमा दर्शकहरुले हर्ष, उन्माद र शान्ति एकैपटक महशुस गरे ।

‘नेपालय’ को आयोजनामा ‘शान्तिका लागि शिक्षा’ अभियान अन्तर्गत देशभर नै सांगीतिक प्रस्तुती दिन हिंडेको नेपथ्य ५ पुसमा खैरेनी आइपुगेको हो ।

लोक संगीतलाई रकसँग फ्युजन गरेर ‘लोक रक’ व्याण्डको परिचय पाएको नेपथ्यका प्रस्तुतीले हरेक उमेर समूहलाई मुग्ध पार्न सक्यो ।

नेपथ्यको एभरटाईम हिट ‘जोमसोमै बजारमा १२ बजे हावा सरर…’, ‘सालैजो’, ‘जोगले हुन्छ भेट’, ‘जीवन हो घामछायाँ’ लगायतका चर्चित गीतले वातावरण न्यानो पारेका थिए ।

अझ ‘गाउँ–गाउँबाट उठ वस्ती वस्तीबाट उठ’ र ‘रातो र चन्द्र सूर्य’ गाउँदा वातावरण निकै भावुक र उन्मादपूर्ण बनेको थियो ।

कार्यक्रमको बीचमा गायक गुरुङले सशस्त्र द्वन्द्वको अन्त्य भएपनि राजनीतिक हस्तक्षेपका कारण विद्यालयका विद्यार्थीले पढ्ने र शिक्षकले पढाउने वातावरण धमिलिएको भन्दै विद्यालयमा राजनीति नगरेर शिक्षाको ज्योतिले देशलाई उज्यालो बनाउन आग्रह गरिरहे ।

टिकट बिक्रीबाट संकलित रकम खर्च कटाएर आँबुखैरेनी–५ स्थित अन्नपूर्ण प्रावि ढकालटारका लागि खेलकुद सामाग्री तथा वडा नम्बर ९ को चण्डिका प्राविका लागि खानेपानीको व्यवस्था गरिने सह–आयोजक एन्फा तनहुँ अध्यक्ष रत्नकुमार श्रेष्ठले जानकारी दिए ।
पवन पौडेल, तनहुँ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>