थप समाचारआइतबार, पौष ७, २०७०

खुम्जुङ– ‘मिल्ने भए चोरेर आफ्नै देश लान्थेें’

हिमालखबर

खुमजुङ् मोनास्ट्री । तस्वीर: asiantreks.com बाट साभार

स्याङबोचेबाट नेपालकै एक मात्र याक विकास फार्मको अवलोकन गर्दै खुम्जुङ उपत्यका पुगिन्छ । खुम्जुङ भ्याली, खुन्दे तथा फोर्चे पर्वतारोहीका गाउँ हुन् । सुन्दर, मनोरम खुम्जुङले जोकोहीलाई मोहनी लगाउँछ । चिसो सिरेटोमा सिउसिउ गर्दै यहाँबाट देखिने हिमशृङ्खला नियाल्नुको आनन्द वर्णन गर्नै नसकिनेछ । हिउँको माला लगाएर ठाँटिएको छ खुम्जुङ । खुम्जुङ हिउँको छायाँको बर्काे ओढेर टुसुक्क बसेको छ, हेर्दै लोभालाग्दो ।

“मिल्ने भए चोरेर आफ्नै देश लैजाउँजस्तो,” खुम्जुङमा भेटिएका इजरायली पर्यटक पेभिएनले भने । खुम्जुङज हिउँको माला लगाएर, हिउँकै बर्काे ओढेर टुसुक्क बसेजस्तो यहाँका युवायुवती बस्न पाउँदैनन् । उनीहरु विश्वको सर्वाेच्च शिखर सगरमाथा चढिरहनुपर्दछ । यहाँका डेढ सयभन्दा बढी युवाले कलिलै उमेरमा सगरमाथा आरोहण गरिसकेका छन् । पर्वतारोहण नै यहाँका बासिन्दाको खेतीपाती, जागिर, व्यापार हो ।

जीवनयापनका लागि प्रमुख आधार नै पर्वतारोहण भएकाले यहाँका अधिकांशले सगरमाथा आरोहण गर्नलाई पानीपँधेरोजस्तै मान्छन् । पर्वतारोहणलाई जागिर वा खेतीपाती माने पनि खुम्जुङमा आलु, मूला, फापर लगायतको बाली पनि हुन्छ । तर त्यस्ता बालीभन्दा खुम्जुङेहरूको मुख्य आयस्रोत नै पर्वतारोहण हो ।

पर्यटकको रोजाइमा परेको खुम्जुङका महिलाहरू प्रायः होटल व्यवसाय तथा पुरुषहरू चाहिँ पर्वतारोहणतिर तानिएका छन् । यहाँका अधिकांशले सगरमाथासँगै नेपालभरिका आठ हजारभन्दा माथिको उचाइका सबै शिखरको आरोहण गरिसकेका छन् ।

पर्वतारोही जाङबुसेराब शेर्पा भन्छन्, “पर्वारोहणमा लाग्नु रहर नभएर बाध्यता हो । ज्यानै जोखिममा राखेर शिखर चढ्ने रहर कसलाई हुुन्छ र ?” यहाँका कतिपयले पर्वतारोहणलाई पेसाका रूपमा लिँदा विश्व कीर्तिमान नै कायम गरेका छन् ।

पर्वतारोहणले गर्दा नै यहाँका शेर्पाहरू विदेशी पर्यटकको साथ लागेर अमेरिका, जापान, जर्मनी, बेलायत लगायतका देश पुगेका छन् । तर, पर्वतारोहीलाई सरकारले भने उचित सुविधा दिन नसकेको उनीहरुको गुनासो छ ।

सगरमाथा, पुमोरी, आमादब्लम लगायतका अग्ला हिउँचुलीको काखमा अवस्थित खुम्जुङको अर्काे विशेषता भनेको यहाँका शेर्पा जातिको अनुपम संस्कृति हो ।

खुमजुङ्मा हाइकिङ् गर्दै । तस्वीर सभार: पिक टु पिक नेपाल

वर्षैपिच्छे यहाँ आयोजना हुने ल्होसार, डुम्जी, माणिरुम्डुजस्ता पर्व पर्यटकका लागि थप आकर्षण बनेका छन् । बाटोभरि सजिएका ध्वजापताका अनि शान्ति कुँदिएका मानेढुङ्गाहरूले मनमा एकतमासको शान्तिकोे अनुभूति हुन्छ । खुम्जुङ भएर सगरमाथा आरोहण गर्न हिँडेका पर्वतारोहीको क्याराभान (लस्कर) देख्दा खुम्जुङ बेहुली लिएर फर्केको जन्तीजस्तै देखिन्छ । यहाँ अधिकांश बासिन्दा सामान्य शिक्षा लिएका वा निरक्षर पनि छन् ।

खुम्जुङमा विश्वकै सबैभन्दा बढी अग्लो स्थान सगरमाथा, विश्वको सबैभन्दा अग्लो गाउँ, विश्वको सर्वाधिक उचाइमा रहेको स्याङबोचे विमानस्थल, विश्वमा सबैभन्दा उचाइमा रहेको होटल होटल एभरेस्ट भ्यू तथा विश्वको सबैभन्दा उचाइमा रहेको गुम्बा पाङबोचे पनि छ । धेरै कुरामा उचाइ हुँदै गर्दा यहाँका अधिकांश युवायुवतीको खेती पनि त्यही उचाइसँग जुध्नु रहेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>