समाचारआइतबार, पौष ७, २०७०
भ्रष्टाचार अभियोगमा एसएसपी चन्दविरुद्ध मुद्दा
अख्तियारले अञ्चल प्रहरी कार्यालय बागमतीको जग्गा खरीदमा भ्रष्टाचार गरेको अभियोगमा एसएसपी सहित चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । काभ्रेको साँगा–४ (अहिले वडा नम्बर ६)मा प्रहरी कार्यालयको जग्गा खरीदमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले ७ पुसमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरुले १ करोड ७९ लाख ८२ हजार ८९६ रुपैंया भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । जग्गाधनीहरु राजकुमार भालु, सुनिलकुमार राजवंशी र रामेश्वर कायस्थले १९ लाख ६६ हजार रुपैंयामा किनेको जग्गा ३ महीना २० दिनपछि नै कार्यालय प्रयोजनका लागि १ करोड ९९ लाख ४८ हजार ८९६ रुपैंयामा बिक्री गरेका हुन् ।
सो जग्गा आपसी मिलेमतोमा नियोजित र बदनियतपूर्वक खरीद भएको अख्तियारको भनाई छ । २६ र २७ माघ २०६६ मा भालु, राजवंशी र कायस्थले मिलेर किनेको जग्गा एसएसपी चन्दसँगको मिलेमतोमा अञ्चल प्रहरी कार्यालयलाई ३ महीना २० दिनपछि नै बिक्री गरेका थिए ।
