समाचारबुधबार, साउन १०, २०६९
निर्वाचन आयोगद्वारा एक उम्मेदवार एक क्षेत्रको प्रस्ताव
संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ लाई संशोधन गर्न बनेको प्रस्तावित ऐनमा सो प्रस्ताव गरिएको हो । प्रस्तावित ऐन संशोधनका लागि आयोगले सरकारलाई बुझाइसकेको छ ।
आयोगका सहसचिव मधु रेग्मीले दिएको जानकारीअनुसार आयोगले संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ लाई संशोधन गर्ने क्रममा सो प्रावधान राखेको हो । यसअघि एक उम्मेदवारले एकभन्दा बढी निर्वाचन क्षेत्रमा पनि उम्मेदवारी दिनसक्ने प्रावधान थियो ।
आयोगले संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ लाई संशोधन गर्नेक्रममा उम्मेदवारको अयोग्यताको थप व्यवस्था, उम्मेदवारले मनोनयनपत्रसाथ सम्पत्ति विवरण र अदालती कारबाहीसम्बन्धी विवरण पेस गर्नुपर्ने व्यवस्था, निर्वाचन खर्च व्यवस्था आदिको पनि प्रस्ताव गरेको छ ।
त्यसैगरी प्राप्त आर्थिक सहयोग र खर्चको लेखा राख्नुपर्ने व्यवस्था र समानुपातिकतर्फो सिट प्राप्त गर्नका लागि खसेको मतको तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रस्ताव पनि संशोधनमा रहेको छ । “ती विषयवस्तु समावेश गरी हामीले ऐन संशोधन गर्न सरकारलाई बुझाएका छौँ,”- सहसचिव रेग्मीले भने ।
आयोगको सो प्रस्तावप्रति राजनीतिक दलहरुले आफ्ना भनाइ सार्वजानिक गरेका छैनन् । आयोगले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई हालै आयोगमा बोलाई निर्वाचन आयोग ऐन, २०६३, मतदाता नामावलीसम्बन्धी ऐन, २०६३ लगायत संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ संशोधन गर्न लागेको र त्यसका प्रावधानका बारेमा जानकारी गराइसकेको छ । रासस
