समाचारसोमबार, पौष ८, २०७०

भट्टराईलाई पूर्व लडाकु कमाण्डरको जवाफ

हिमालखबर

एमाओवादी नेता बाबुराम भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत् ‘दुई कार्यकालभन्दा बढि पार्टी र राज्यको उच्च पदमा बस्न नहुने’ सार्वजनिक गरेको धारणामा पूर्व लडाकु कमाण्डर सूर्य पौडेल (सरल सहयात्री)ले फेसबुकमार्फत कडा प्रतिक्रिया दिएका छन् । महाधिवेशनमा उमेर र कार्यकाल तोक्न सिंगो हलले माग राख्दा भट्टराईसहित पार्टी नेतृत्वले ‘लत्याइदिएको’ उनको भनाई छ ।

संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक–१ का एमाओवादी उम्मेदवार सूर्य पौडेलले पार्टीले संविधानसभा निर्वाचनमा हार्नुमा नेतृत्वको ‘कोठे निर्णय’ मूख्य कारण रहेको बताएका छन् । संविधानसभा निर्वाचनमा पराजय हुनुको कारणबारे जान्न नेताहरु अहिलेसम्म कार्यकर्ताकोमा नआएको पनि उनको भनाई छ । ‘आफै आफै निर्णयमाथि निर्णय गर्दै बिजित सेनापति जसरी बसिरहनु भएको छ’ पौडेलको भट्टराईसहित नेतृत्वमाथि आरोप छ ।

भट्टराईले ६ पुसमा फेसबुकमार्फत् ‘पार्टी नेतृत्व र राज्यको उच्च कार्यकारी पदमा दुई कार्यकाल भन्दा बढी पटक कोही पनि बस्न नहुने’ धारणा सार्वजनिक गरेका थिए । पौडेलले भट्टराईको उक्त धारणालाई ‘बखतमा नआएको वुद्धि’को संज्ञा दिएका छन् ।

मोहन वैद्यले उठाएको पूर्ण समानुपातिक व्यवस्थामा जानुपर्ने तर्कलाई सहि भन्दै एमाओवादी ताम्सालिङ राज्य सचिवालय सदस्यसमेत रहेका पौडेलले केन्द्रीय समिति  विघटन गरेर विशेष महाधिवेशन आयोजना गर्न अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराईसहित नेतृत्वलाई चुनौति दिएका छन् ।  पौडेलले भनेका छन्, ‘हामी सबैको कुरालाई मान्नुहुन्छ भने तपाईहरुले सबैभन्दा पहिले पार्टीलाई नयाँ बनाउनका लागि केन्द्रीय समिति नै बिघटन गरेर बिशेष महाधिवेशन आयोजना गर्नुपर्दथ्यो, अझै पनि गर्न पर्नै यही हो ।’

पौडेले आफ्नो फेसबुक पेजमा लेखेका छन्ः

बाबुराम कमरेड, तपाइले आफ्नो फेसवुक स्टाटस मार्फत उठाएको कुरा सोहै् आना सहि हो । तर वखतमा नआएको वुद्धि जति राम्रो भएपनि के काम ?

१) गएको महाधिवेशनमा पार्टि कमिटिहरु निर्वाचित, चुस्त र कामकाजी हुनपर्छ भनेर घोक्रो सुक्नेगरि चिच्याउने युवाहरु मध्य एउटा मपनि थिए । त्योवेला तपाइहरु सवैजना लागेर हामीलाइ पेल्नुभयो । आफ्नो संगठनमा कम्तिमा यति कुराको शुरुवात गरेको भए अरुलाइ भन्न सजिलो हुनेथियो ।

२) राजनीतिमा उमेर र कार्यकालको अवधि तोक्नका् निम्ती सिंगै हलले गरेको पहललाइ सजिलै लत्याइदिनुभयो ।

३) वैद्य कमरेडले नै उठाएको सहि पूर्ण समानुपातिक व्यवस्थामा जानुपर्छ भन्ने कुरामा चुनाव अगाडी हामी चु सम्मपनि वोलेनौं ।

४) वाकि कुरा नेपाली जनताले चाहेको नै तपाइले भनेजस्तै हो । तर आफ्नो हातवाट डाढु पन्यु खुस्की सकेको संविधानसभाबाट मलाइ त त्यत्रोविधि आशा जागेको छैन । तपाइहरुको क्रियाकलाप देख्दा मलाइ त लाग्छ कांग्रेस एमाले प्रति वढि नै विश्वास लागेको छ अझै तपाइहरुलाइ ।

५) पार्टि हार्नुको कारणहरु मध्य महत्वपूर्ण कारण तपाइहरुको कोठे निर्णयपनि हो । तपाइहरुले कोठामा गरिएको निर्णयलाइ अनुमोदन गराउनको लागी हामी सवलाइ जम्मा गरेर जनवादको भाषण ठोक्ने होइन र ? यसको निर्मम स्मरण गर्नुपर्छ तपाइहरुले

६) सिंगै क्रान्ति संकटमा पर्नेगरी हामी चुनावमा पराजित भएका छौं । यसको सहि निस्कर्ष निकाल्नको निम्ती आजसम्मपनि तपाइहरु आफ्ना कार्यकर्ताकोमा जानको निम्ती तयार हुनभएको छैन । आफें आफैं निर्णयमाथी निर्णय गर्दै विजित सेनापति जस्तो अगाडी वढि रहनु भएको छ ।

७) हामी सवैको कुरालाइ मान्नु हुन्छ भने तपाइहरुले सवभन्दा पहिले पार्टिलाइ नया वनाउनको लागी केन्द्रीय समितिनै विघटन गरेर विशेष महाधिवेशन आयोजना गर्नु पथ्र्यो । अझैपनि गर्नपर्ने यहि हो । तर तपाइहरु किन यसमा चासो नदिएर दुनियालाइ सुझाव दिंदै हिड्नु हुन्छ ? विशेष महाधिवेशनको म्यन्डेडले तपाइहरुलाइ नै नेतृत्व गर्ने आवश्यकताको महशुष गर्यो भने वल्ल तपाइहरुलाइ अघिल्ला निर्णय गर्ने नैतिक अधिकार हुन्छ । तर त्यो प्रति न त अध्यक्षको ख्याल देखियो न तपाइको नै ? अरुको त के कुरा गर्नु ?

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>