समाचारमंगलबार, पौष ९, २०७०

एमाओवादीका पाँच शर्तमा पोखरेलको जवाफ

हिमालखबर

निर्वाचन सम्पन्न भएको एक महिना भन्दा वढि हुँदा पनि संविधानसभाले पूर्णता पाउन सकेको छैन । दोस्रो पटक थप गरिएको समयमा समानुपातिकको सूची वुझाउने काम भएमा पनि संविधानसभाको वैठकको आयोजना हुनका लागि अझै डेढ महिना भन्दा वढि लाग्ने स्थिति छ ।

त्यसमाथि राजनीतिक दलहरुका बीचमा आवान्छित रुपमा वर्चश्वको लडाई सुरु भएका कारणले यो प्रकृया कसरी कुन रुपमा टुंगिने हो ठेगान छैन । यस प्रकरणलाई विधिसम्मत ढंगले समाधन गर्नका लागि अगुवाई गर्नुपर्ने भूमिकामा रहेको नेपाली काँग्रेसको नेतृत्व सवैभन्दा अन्योलमा देखिन्छ ।

निर्वाचनमा तेस्रो शक्तिमा पुगेको एमाओवादीले समग्र प्रकृयालाई अवरुद्ध गर्ने कुरामा अगुवाई गरिरहेको छ र नेपाली कांग्रेस नेतृत्वको एउटा हिस्सा एमालेलाई कमजोर पार्ने रणनीतिमा त्यसको मतियार वन्न पुगेको छ । कांग्रेसको कमजोरीका कारणले एमाओवादीको मनोवल वढेको छ र ऊ एक पछि अर्को शर्त अघि सार्न अग्रसर छ ।

शुरुमा धाँदलीको छानविनका लागि एक सूत्रीय माग गर्दै आएको एमाओवादीले त्यसपछिका दिनहरुमा चुनावमा पराजय वेहोरेका शक्तिहरुको मोर्चा वनाएर सहमतीय प्रकृया शुरुगर्नु पर्ने र त्यसका लागि संविधान संशोधन गर्नुपर्ने माग अघि सार्यो । अहिले आएर त्यसमा अरु थपेर पाँच वुँदे प्रस्ताव अघि सारेको बताइन्छ । वार्ताको क्रममा एमाओवादीले अघि सारेका र का‌ग्रेसले मोटामोटी सहमती जनाएका भनिएका पाँच प्रस्तावहरु र त्यस सन्दर्भमा मेरा स्पष्टिकरण यस प्रकार रहेका छन् :

पहिलो, वाह्रवुँदे सहमति, विस्तृत शान्ति संझौता, अन्तरिम संविधानको जगमा अघि वढ्न् तयार हुनु पर्ने,

स्पष्टिकरणः त्यसको जगमा एमाओवादी आफै अघि वढ्न तयार नभएका कारणले नै गएको संविधानसभा असफल भएको थियो । उसले नै उक्त सहमति विपरित जितुवा र हरुवाको नयाँ मान्यता अघि सारेको हो ।

यतिसम्म की भइसकेका सहमतिवाट पनि पछि हटेर संविधानसभालाई असफल वनाउने कुराको मतियार वन्न पुगेको थियो । तर नेकाँ र एमालेले त अहिले पनि उक्त सहमतिका आधारमा अघि वढ्न तयार छौ भनिरहेकै छन् । त्यसका लागि कुनै शर्तको आवश्यकता नै थिएन र छैन पनि । तर पनि यस मागलाई अन्यथा ठान्नु पर्ने आवश्यकता छैन ।

दोस्रो, निर्वाचनमा धाँदली भएको एमाओवादी आरोपका सन्दर्भमा छानविनका लागि उच्चस्तरिय छानविन आयोग गठन गर्नु पर्ने,

स्पष्टिकरणः संविधानसभाको दुई निर्वाचनको तुलना गर्ने हो भने पहिलेको तुलनामा यस पटकको निर्वाचन अझै व्यवस्थित र जनसहभागिता मुलुक थियो । निर्वाचन निस्पक्ष र शान्तिपूर्ण रहेकोमा औपचारिक रुपमा वक्तव्य जारीगर्ने पहिलो पार्टी पनि एमाओवादी नै थियो ।

निर्वाचन सम्पन्न भएको ३६ घण्टा पछि त्यसमा पनि मतगणनाको काम आधिभन्दा वढि सम्पन्न भएर प्रारम्भिक नतिजा आउन थालेपछि धाँदलीको आरोप लगाउनु भनेको जनमतलाई स्वीकार गर्न नसक्नु हो । जहाँसम्म निर्वाचनमा कुनै प्रकारको कैफियत भए त्यसका वारेमा उजुरी गर्ने र छानविन गर्ने सम्वैधानिक प्रवन्ध छँदैछ । त्यस प्रकारको सम्वैधानिक प्रवन्ध एमाओवादी समेतको सहमतिमै गरिएको हो । त्योभन्दा बाहिर गएर सम्वैधानिक अंगको काममा प्रश्न उठाउने कुरा उचित हुँदैन ।

सम्वैधानिक अंगकै पदाधिकारीका सन्दर्भमा प्रश्न उठाउने हो भने त्यो ठाउँ भनेको व्यवस्थापिका संसद हो । व्यवस्थापिका संसदले उचित देखेमा कुनै पनि सम्वैधानिक अंगका पदाधिकारी उपर महाभियोगसम्म लगाउन सक्दछ । तर एमाओवादीको उद्देश्य जनमतलाई उपेक्षागर्ने र परिणामलाई विवादास्पद वनाउने हो । लोकतन्त्रमा विश्वासगर्नेहरु यस प्रकारको अनुचित कार्यको मतियार वन्ने कुरै आउदैन ।

तेस्रो, उच्चस्तरीय राजनीतिक संयन्त्र यथावत राख्नु पर्ने र त्यसको नेतृत्व प्रचण्डलाई दिनुपर्ने,

स्पष्टिकरणः वर्तमान उच्चस्तरीय राजनीतिक संयन्त्र संविधानसभा, व्यवस्थापिका संसद नरहेको अवस्थामा गैर राजनीतिक नेतृत्वको सरकारलाई सहयोग गर्नका लागि गठन गरिएको थियो । संविधानसभा, व्यवस्थापिका संसदको गठन भएको अवस्थामा त्यसको औचित्य स्वतः समाप्त भइसकेको छ ।

चुनाव हारेर प्रतिपक्षमा वस्ने फैसला गरेको पार्टीको नेताले सरकार भन्दा वाहिर वसेर सरकार संचालनको वागडोर आफ्नो हातमा दिनुपर्ने मागगर्नु सर्वथा अनुचित कुरा हो । यो वैधानिक सत्तालाई र अन्ततः लोकतन्त्रलाई कमजोर वनाउने खेल हो । चुनावमा आफ्नो एजेण्डाको पराजय भएको स्थितिमा नेताहरुको पनि नेता वन्ने प्रचण्डको महत्वकांक्षालाई कुनै पनि अर्थमा प्रोत्साहन गर्नु हुँदैन । यसले मुलुकलाई अधिनायकवादतिर लैजाने खतरा उत्पन्न हुनेछ । यस्ता कुरामा लोकतान्त्रिक शक्तिहरु गंभीर हुनु जरुरी छ ।

चौथो, सहमतिका आधारमा मात्र संविधान निर्माण गर्नु पर्ने र त्यसका लागि संविधानमा संशोधन गर्नु पर्ने,

स्पष्टिकरणः सहमतिका आधारमा संविधान निर्माण गर्ने प्रयास असफल भएर नै संविधानसभाको दोस्रो निर्वाचन भएको हो । दोस्रो निर्वाचनका क्रममा असहमतिका एजेण्डाहरु विशेष गरी एकल जातीय पहिचानका कि वहुजातीय पहिचानमा चुनावका क्रममा एक प्रकारको जनमत संग्रह नै भएको थियो । चुनावमा एमाओवादी र मधेशी दलहरुले एकल पहिचान र नेकाँ र एमालेले बहुपहिचानको मुद्दा अघि सारेका थिए ।

अहिलेको चुनावको परिणामलाई त्यही परिप्रेक्षमा हेरिनु पर्दछ । त्यसमाथि प्राय सवै पार्टीले अव संविधानसभामा विधि र प्रकृयालाई स्थापित गरिने प्रतिवद्धता सवैले व्यक्त गरेका थिए । त्यसमा सवैभन्दा वढि जोड एमाओवादीकै रहेको हो । चुनावी घोषणापत्र पल्टाउँदा पनि हुन्छ । त्यस विपरित सहमतिका आधारमा मात्र संविधान निर्माण गर्ने सम्भव रहन्छ र ? अहिलेको संविधानसभामा विगतको तुलनामा अझै ठूलो शक्तिकासाथ राजावादी पार्टीको पनि प्रवेश भएको छ ।

संघीयता नचाहनेहरु पनि त्यहाँ उपस्थित छन् भन्ने कुरालाई विर्सेर सहमतिका आधारमा मात्र संविधान वनाउने कुरा गर्नु भनेको संविधानसभावाट संविधान वनाउन नदिने कुरा नै हो । यो हरेक हिसावले अनुचित कुरा हो ।

अन्तरिम संविधानले सकेसम्म सहमतिमा जाने जोड दिएकै छ । संविधान निर्माणमा मात्र होइन, सरकार गठनमा समेत त्यो प्रवन्ध गरेकै छ । यसका लागि संविधानमा संशोधन गरिरहनु पर्ने कुनै आवश्यकता छैन ।

पाँचौ, एकवर्ष भित्रै संविधान निर्माण गरी नयाँ निर्वाचनमा जानुपर्ने ।

स्पष्टिकरणः एकवर्ष भित्र संविधान निर्माण गर्ने कुरा प्रमुख दलहरुको साझा प्रतिवद्धताको कुरा हो । तर एकवर्ष भित्रै नयाँ निर्वाचनको कुरा सम्वैधानिक र व्यवहारिक रुपमा पनि उपयुक्त र सम्भव देखिदैन । नयाँ संविधान अन्तरगतको संघीय संसद र प्रादेशिक सभाको निर्वाचनका लागि अनेकन् प्रकारका कानूनी र प्राविधिक कामहरु सम्पन्न गर्नु पर्ने हुन्छ ।

कानूनी र संरचनागत प्रवन्ध विना नै नयाँ निर्वाचनमा जान सम्भव हुदैन । संविधान निर्माणपछि पनि त्यो काम सम्पन्न गर्नका लागि सरकार र व्यवस्थापिका संसदलाई कम्तिमा पनि दुई अढाई वर्ष लाग्न सक्दछ । छिटो सम्पन्न गर्न सक्दा छिटो चुनावमा जान सकिन्छ । तर व्यवहारिक हिसावले नसोचिकन अहिले नै समय तोक्नु भनेको मतभेद र असन्तुष्टिको नयाँ आधार सृजना गर्नु हो ।

यि सवै यथार्थतालाई पूर्णतः उपेक्षागरी हामी त तयार छौ, एमालेको नेतृत्वलाई तयार गर्नु भनेर नेपाली कांग्रेसको नेतृत्वले भन्नु कतिसम्म उचित हो ? मुलुकलाई विधिको वाटोमा हिडाउने र अनुचित कुराको विरोध गर्ने जिम्मेवारी के एमालेको मात्र हो ? कतै यो एमाले र एमाओवादीका बीचमा असमझारी वढाएर लाभ लिने नेकाँको अनुचित कोशिस त होइन ? यदी नेकाँको कुरा त्यो होइन भने स्पष्ट गर्नु जरुरी छैन र ?

यसरी दुई दुई पटक सरकारको नेतृत्व गरिसकेको एमाओवादीले कहिलेसम्म आफुलाई विद्रोही शक्तिको दावी गर्न मिल्ने ? के अव पनि उसले विद्रोही शक्तिको दावी गर्दै विधि र प्रकृयाभन्दा वाहिरको कुरा गर्न मिल्छ ? मुलुकलाई संकट र संक्रमणवाट मुक्त गर्नु उसको जिम्मेवारीको कुरा होइन र ?

अनि यस्ता विषयहरुमा मुलुकको वौद्धिक समुदाय मौनरहनु र रमिते वन्नु उचित हुन्छ ? लोकतन्त्रको आधार भनेको राजनीतिक नेता र राजनीतिक दलहरु मात्र होइन्, सचेत र जागरुक जनता पनि त हुन् । त्यस दिशातर्फ मुलुकलाई डोर्याउन ढिला भएन र ?
एमाले सचिव शंकर पोखरेलको फेसबुक स्टाटसबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>