समाचारमंगलबार, पौष ९, २०७०
एलडिओ र सचिवले बढी भ्रष्टाचार गरे: लोकमान
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय उद्घाटन गर्न ९ पुसमा पोखरा आइपुगेका अख्तियार प्रमुख लोकमानसिंह कार्कीले जनप्रतिनिधि नहुँदा स्थानीय निकायमा सबैभन्दा बढी अनियमितता भइरहेको बताएका छन् । जनताको सहभागितामा हुनुपर्ने काम गाविस सचिव र स्थानीय विकास अधिकारीबाट गराउनुपर्दा बढी अनियमितता हुने गरेको कार्कीले बताए ।
पाँचवटै विकास क्षेत्रबाट सबैभन्दा बढी स्थानीय निकायहरुमा भ्रष्टाचार भइरहेको उजुरी परेको उनले जानकारी दिए । त्यसैगरी सुरक्षा र स्वास्थ्य सम्बन्धी निकायहरुमा पनि भ्रष्टाचार भएको कार्कीको दाबी छ ।
“जनताको सहभागितामा हुनुपर्ने काम राजनीतिक दलको भागबण्डामा हुने गरेको छ’ कार्कीले भने,‘स्थानीय निकायले उपभोक्ता समितिमार्फत गराउने विकास निर्माणको काममा बढि अनियमितता भएको उजुरी आयोगमा परेको छ । ”
उनले प्राकृतिक विपत्तिलाई देखाएर अनियमितता गरिएको पाइएको भन्दै थपे, “कामै नगरी योजना सम्पन्न गरेको कागज बनाएर रकमको चरम दुरुपयोग गरिएको छ । ”
सामाजिक सुरक्षा भत्तामा पनि व्यापक अनियमितता हुने गरेको, लक्षित वर्ग र क्षेत्रमा सेवा नपुगेको र स्थानीय निकायमा रहेका जिम्मेवार कर्मचारीको मिलोमतोमा यस्तो काम भइरहेको कार्कीले बताए ।
उनले भने, “झोले स्कुल र विद्यार्थी देखाएर शैक्षिक क्षेत्रमा ब्यापक रुपमा अनियमितता भएको गुनासो आएको छ, आयोगले यस्ता उजरीलाई गम्भीर रुपमम लिएको छ ।”
माधव बराल, पोखरा
