समाचारमंगलबार, पौष ९, २०७०

६० प्रतिशत किसानलाई खान पुग्दैन

हिमालखबर

केन्द्रीय तथ्यांक विभागले ९ पुसमा सार्वजनिक गरेको कृषि गणना अनुसार ६० प्रतिशत कृषकलाई आफ्नै उत्पादनले खान पुग्दैन । विभागका अनुसार देशभरी ३८ लाख ३१ हजार कृषक परिवार छन् ।

एक दशक अघिको तुलनामा कृषक परिवारको संख्या ४ लाख ६७ हजारले बढेको विभागका उपमहानिर्देशक सुमानराज अर्यालले जानकारी दिए । विभागले सार्वजनिक गरेको छैंटौं राष्ट्रिय कृषि गणना २०६८ मा खेतियोग्य जमिन घटेको पनि उल्लेख छ ।

१० वर्ष अघि २६ लाख ५४ हजार हेक्टर रहेको खेतियोग्य जमिनमध्ये अहिले २५ लाख २५ हजार हेक्टरमा मात्रै खेती हुने गरेको छ । अर्यालले एक दशकमा १ लाख २९ हजार हेक्टर जमिन बाँझो रहेको बताए ।

नेपालमा खेती गरिने जमिनमध्ये ५३.१२ प्रतिशत जग्गामा सिंचाई पुग्ने कृषि गणनामा उल्लेख छ । विभागका अनुसार ४८ प्रतिशत कृषक नदी तथा तलाउ, ३० प्रतिशत ट्युब्वेल तथा बोरिङ्ग र १६ प्रतिशत कृषक बाँध तथा जमेको पानीबाट खेती गर्छन् ।

पाँच हजार २०० वडाका समूहहरु छनौट गरेर विभागले गरेको गणनामा २२ प्रतिशत कृषकले मात्रै खेतीका लागि ऋण लिने गरेको पाइएको छ । ४२ प्रतिशत कृषकले भने ऋण लिन चाहेर पनि नपाएको र ५८ प्रतिशत कृषकलाई ऋण नै नचाहिएको गणनामा फेला परेको विभागका उपमहानिर्देशक अर्यालले बताए ।

गणनामा ८३ प्रतिशत कृषकको मुख्य आम्दानीको स्रोत कृषि नै भएको देखिएको छ ।

खाद्यान्न उत्पादन घट्यो
दश वर्षको अवधिमा मुख्य बालीको खेती घटेको छ । धान, गहूँ, मकै, कोदो, जौ, फापर, कोषे तथा दाल र तोरीको खेती घटेको हो । विभागका अनुसार धान र गहूँको खेती ६–६ प्रतिशत, मकै १२ प्रतिशत, कोदो १९ प्रतिशत, जौ ३५ प्रतिशत, फापर ४० प्रतिशत , कोषे तथा दाल बाली २१ र तोरी १३ प्रतिशतले घटेको छ । तर, आलु, मसला, तरकारी र अरु नगदे बालीको खेत ीभने बढेको तथ्यांकमा उल्लेख छ ।

केन्द्रीय तथ्यांक विभागले १६ पुस २०६७ देखि १६ पुस २०६८ सम्मको अवधिमा राष्ट्रिय कृषि गणना गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>