समाचारबुधबार, पौष १०, २०७०
जनता हिंसा चाहँदैनन्: राष्ट्रपति
बुटवलमा १० पुसदेखि शुरु औद्योगिक मेलाको उद्घाटन गर्दै राष्ट्रपति रामवरण यादवले शान्ति र लोकतन्त्रका माध्यमबाट देशमा स्थायित्व प्रदान गरी समृद्ध नेपाल बनाउनतर्फ सबै राजनीतिक दल अग्रहसर हुनुपर्ने बताएका छन् ।
राष्ट्रपति यादवले भने, “चुनावले हिंसा होइन, शान्ति र लोकतन्त्रको बाटो नै उपयुक्त हो भन्ने सन्देश दिएको छ ।”
उनले जनताको चाहना पूरा गर्न दलहरुले सहमतिमा छिटै संविधानसभा बैठक डाकेर गणतन्त्रलाई संस्थागत गर्दै संविधान बनाई देशलाई समृद्धि तर्फ लग्नुपर्ने बताए ।
उनले उनले जनताले जातीय–क्षेत्रीय सद्भाव, समावेशी गणतन्त्र र संघीयता संगसंगै देशको अखण्डता र एकताको चाहना व्यक्त गरेरै संविधानसभामा मतदान गरेको बताए ।
८० प्रतिशत जनताले संविधानसभा निर्वाचनमा आफ्नो अभिमत जाहेर गरी आफूलाई शान्ति र लोकतन्त्रको पक्षमा उभ्याएको भन्दै यसले जनता हिंसा चाहँदैनन् भन्ने पुष्टी गरेको राष्ट्रपति यादवको भनाई थियो ।
मेलाको ५ लाख दर्शकले अवलोकन गर्ने र १५ करोड बढीको कारोवार हुने आयोजक बुटवल उद्योग वाणिज्य संघले अनुमान गरेको छ । मेलामा ५० भन्दा बढी महिला उद्यमीका सहित ५ सय ५० स्टल रहेका छन् ।
दीपक ज्ञवाली, बुटवल
